हेटौंडा ः ७ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेताहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरेको आरोप लगाउनुभएको छ । नेताहरूले लोकतन्त्रको नाममा ब्रम्हलुट गरेको आरोप लगाउँदै थापाले अब जनतालाई नै विकल्प खोज्ने अवसर दिनुपर्ने बताउनुभएको छ ।
आज समाजिक सञ्जालमा ट्विट गर्दै थापाले राष्ट्रपतिले शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको प्रस्ताव खारेज गर्नुपर्ने माग गर्नुभयो । दुवैको दावीमा विश्वासको मत प्राप्त गर्ने आधार नभएको भन्दै खारेज गरी निर्वाचन घोषणा गर्नुपर्ने माग थापाले गर्नुभएको हो । संविधानको धारा ७६(५)अनुसार आफूलाई प्रधानमन्त्री बनाउन भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष दावी पेश गरेका छन् ।
उहाँले ट्वीट गर्दै भन्नुभएको छ, ‘राष्ट्रपति महोदय, दुवै दाबीमा संविधानको धारा ७६ (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार छैन ।’