हेटौंडा, ७ जेठ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालाई विभिन्न क्षेत्रबाट अक्सिजन सहयोग प्राप्त भइरहेको छ । आज मकवानपुर ग्याँस व्यवसायी संघले पनि अक्सिजन सहयोग गरेको छ । ग्याँस व्यवसायी संघले हेटौडा अस्पताललाई आज ५० थान अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको हो ।
अक्सिजनको अभावमा कसैको पनि उपचारमा कठिनाइ नहोस् भन्ने उद्देश्यले ग्याँस सहयोग गरेको मकवानपुर ग्याँस व्यवसायी संघ सचिव केशवप्रसाद मुड्भरीले बताउनुभयो । अक्सिजन हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष दिलीश गोविन्द जोशी, बागमती प्रदेशका उपाध्यक्ष विनोमान श्रेष्ठ, सल्लाहकार विष्णु ढुङगाना, पीताम्बर ढकाल, एवं पदाधिकारीहरूको उपस्थिति थियो । सो अवसरमा हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य शाखाका सिनियर अहेव भोलानाथ चौलागाईले यस्ता सहयोगले बिरामीहरूको उपचारमा सहयोग पुगेको र आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताउनुभयो ।
कोरोना सङ्क्रमण दिनप्रतिदिन बढिरहेको र बिरामीको सङ्ख्या पनि बढिरहेकोले सङ्कटका बेलामा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु आफ्नो दायित्व सम्झेर अक्सिजन सहयोग गरेको सचिव मुडभरीले बताउनुभयो ।