हेटौंडा, ७ जेठ ।
इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ । ११ दिनको सङ्घर्षपछि आज दुबै पक्ष युद्ध विराम गर्ने निर्णयमा पुगेका हुन् । यसबीचमा २४० भन्दा बढी मानिसको ज्यान गएको छ । जसमा गाजा क्षेत्रका धेरै मानिस मारिएका छन् ।
स्थानीय समय अनुसार दुई देशबीचको सहमतिपछि आज बिहान २ बजेदेखि लागू हुने गरी युद्धविराम भएको बिबिसीले जनाएको छ । इजरायलको मन्त्रिपरिषद् बैठकले बिना शर्त युद्धविराम गर्ने निर्णय लिएको हो । हमासका एक अधिकारीले पनि युद्धविराम भएको पुष्टि गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामप्रति खुसी व्यक्त गर्नुभएको छ । मे १० देखि सुरु भएको हिंसाका कारण हमास नियन्त्रणको गाजामा १०० भन्दा बढी महिला तथा बालबालिकासहित अहिलेसम्म कम्तीमा २४० जनाको ज्यान गएको छ । इजरायलले मारिनेमध्ये कम्तीमा १५० जना हमास लडाकु रहेको दाबी गरेको छ । तर हमासले अहिलेसम्म आफ्ना लडाकु कति मारिए भनेर कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन ।
मे ७ तारिखका दिन अल अक्सा मस्जिद नजिक यहुदी र अरबीबीच झडप भएपछि विवादले उग्र रुप लिएको थियो । सोही विषयलाई लिएर हमास र इजरायलबीच १० मेदेखि युद्ध चलेको थियो । अल अक्सा मस्जिजदलाई यहुदी र इस्लाम धर्मावलम्बी दुबैले आफ्नो पवित्र स्थल मान्दछन् ।