हेटौंडा, ६ जेठ ।
राष्ट्रियसभाको वाग्मती प्रदेशमा गराइएको उपनिर्वाचनमा ३३८ मत खसेको छ ।
आज दिउँसो ३ बजेसम्म तोकिएको मतदानमा १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका हुन् ।
स्थानीय तहका ५ र प्रदेशसभाका ५ जना मतदानमा अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वाग्मती प्रदेशसभाका ११० सदस्य र पालिका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता रहेकामा दश मत नखसेको हो ।
मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो भने विवेकशील साझा पार्टीका ३ जनाले मतदान बहिस्कार गरेका थिए ।
प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको १८ मतभार रहेकाले तीन उम्मेदवारले प्राप्त गरेको मतका आधारमा सबैभन्दा बढी मत ल्याउनेलाई विजयी घोषणा गरिनेछ ।
निर्वाचनमा सत्तारुढ नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेका माधव नेपाल पक्षतर्फबाट डा. खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार हुनुहुन्छ ।
मतदानका लागि विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । मतगणना सकाएर आजै परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।