हेटौंडा, ६ जेठ ।
हेटौंडामा आज बिहानैदेखि वर्षा भइरहेको छ । मकवानपुरका अधिकांश भूभागमा अहिले हल्का वर्षा भइरहेको छ । मकवानपुर साथै देशभर आज सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातबाट उतर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ताउ–ते को प्रभावका कारण बदली तथा वर्षा भएको महाशाखाले जनाएको छ ।अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ ।