हेटौंडा ः ५ जेठ ।
हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षाको नतिजा यही जेठ २० गतेसम्म प्रकाशन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले आज एक सूचना जारी गर्दै हेटौंडा उपमहानगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई कक्षा ८ को बाहेक अन्य सबै कक्षाको नतिजा जेठ २० गतेसम्म प्रकाशन गर्न निर्देशन दिएको हो ।


कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिरहेकोले विद्यालयमा उपस्थित भई परीक्षा लिन सक्ने अवस्था नभएकाले पहिले नै लिएको भए सोही परीक्षाका आधारमा नतिजा प्रकाशन गर्न भनिएको छ । परीक्षा नलिएको भए सम्भव भएसम्म भर्चुअल माध्यमबाट सूचना प्रविधिका माध्यमबाट परीक्षा लिनु पर्ने छ । सो पनि सम्भव नभए त्रैमासिक परीक्षाका आधारमा वा निरन्तर मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न भनिएको छ । २० गतेसम्म नतिजा प्रकाशन गरी शिक्षा महाशाखामा बुझाउन पनि सूचनामा भनिएको छ ।

यसैगरी नतिजा प्रकाशन गर्दा ग्रुप म्यासेज, मोबाइल फोन, भाइबर, इमेल, म्यासेन्जर च्याटका आदिका माध्यमबाट गराउन सूचनामा भनिएको छ । समाजिक सञ्जालबाट नतिजा प्रकाशन नगर्न आग्रह गर्दै गर्नु परेमा विद्यार्थीको नाम प्रकाशन नगरी सिम्बोल नम्बर वा रोल नम्बर मात्र प्रकाशन गर्न सूचनामा आग्रह गरिएको छ । साथै जेठ महिनाभर चालु शैक्षिक सत्र रहेकाले असारको पहिलो हप्ताबाट मात्र नयाँ भर्ना लिन भनिएको छ । कक्षा ८ को परीक्षाको हकमा भने केही दिनपछि निर्णय हुने पनि नगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।