हेटौंडा, ५ जेठ ।
हेटौंडामा पूर्ण रूपमा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
खाद्यान्न तथा फलफुल, तरकारी बजारमा अत्यधिक भीडभाड बढेपछी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले हेटौंडामा पूर्ण रूपमा निषेधाज्ञा गर्न लागेको हो ।
भोलिदेखि हेटौंडाको मुख्य बजार क्षेत्र पूर्वमा क्याम्पाडाँडा, पश्चिममा राप्ती पुल, उत्तरमा चौकीटोल र दक्षिणमा कर्रा पुलसम्म औषधि पसल र अक्सिजनको सवारीबाहेक कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
दैनिक अत्यावश्यक खाद्यान्न तथा तरकारीहरू सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर टोल–टोलमा पुर्याउने व्यवस्था मिलाउने गरी निषेधाज्ञामा कडाइ गरिन लागेको प्रजिअ पाण्डेले बताउनुभयो ।