हेटौंडा ५ जेठ ।
निर्वाचन आयोगले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको अचारसंहिता उल्लंघन नगर्न चेतावनी दिएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै आचासंहिता लागू भइसक्दा समेत पनि त्यसको उल्लंघन भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएको हो ।
भोलि हुने राष्ट्रियसभा निर्वाचनको उपनिर्वाचनमा लागि ३ जेठको राति १२ बजेदेखि मौन अवधि शुरू भइसकेको छ । तर, यस अवधिमा पनि उम्मेदवारका पक्षममा मतमाग्ने काम भएको भन्दै आयोगले ध्यानाकर्षण भएको बताएको हो । मौन अवधि शुरू भएपछि राष्ट्रियसभाका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मंगलबार साँझ अबेर फेसबुकमार्फत मत मागेका थिए । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक अपील जारी गर्दै बादलका पक्षमा मतदान गर्न आह्वान गरेका छन् । आयोगले मौन अवधिमा पनि आचारसंहिताविपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरूले उम्मेदवारको जीत–हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने काम समेत गरेको भन्दै त्यस्तो नगर्न समर्थन समेत चेतावनी दिएको छ ।
आयोगले मतदाताहरुलाई भोलि ९ बजेदेखि ३ बजेसम्म हुने मतदानमा सहभागी हुन आयोगले अनुरोध गरेको छ ।