हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारी कोरोना सङ्क्रमण मुक्त भई मंगलबारदेखि नियमित काममा फर्किनु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उहाँ पन्ध्र दिनसम्म अस्पतालमा बस्नुभयो । उहाँकै सक्रियताका कारण गतवर्ष ९ नम्बर वडामा सङ्क्रमण फैलिन पाएको थिएन तर यसवर्ष दैनिक २६ जनासम्मलाई पोजेटिभ देखियो । कोरोना सङ्क्रमणमुक्त भई मंगलबारदेखि नियमित काममा फर्कनुभएका ९ नम्बर वडाका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीसँग ज्योति न्यौपानेले गरेको कुराकानी ।
तपाइँको अनुभवमा कोरोना सङ्क्रमण के कस्तो कारणले हुने रहेछ ?
कोरोना सङ्क्रमण त खासगरी आत्मबल कमजोर भयो भने चाँडै हुने रहेछ । खासमा मलाई त विभिन्न दीर्घ रोगहरू थिए । चारपाँच थरिका त औषधीमात्र मैले खाइरहेको छु । तैपनि उच्च मनोबलका साथ यो रोगसँग लडेँ । चौध पन्ध्र दिन अस्पतामा बसेँ । आजबाट नियमित काममा फर्केको छु । यो रोग निरोगीहरूका लागि त सामान्य हो । साधारण रुघाखोकी जस्तो हो । तर जसलाई दीर्घ रोग छ, त्यस्ता मानिसलाई चाहिँ यसले असर गर्छ, यसले फोक्सोमा असर गर्दाे रहेछ । आत्मबल कमजोर हुनेहरूलाई त मृत्युको मुखमा समेत पु¥याउने रहेछ ।
कोरोना पोजेटिभ देखिएपछि तपाइँलाई कस्तो महसुस भयो ?
यसले स्मरण शक्तिमा कमी ल्याउँदो रहेछ । नैराश्यता पनि छाउँदो रहेछ । त्यसकारण पारिवारिक माया ममता, पोषिलो खानेकुरा खाएमा आत्तिनु पर्दैन । म चार दिन आइसीयुमा बसेँ । त्यहाँ कोरोनासँग लड्न नसकी कतिपय व्यक्तिहरू मृत्युको मुखमा पुगेको पनि देखेँ । जब मानिसको मृत्यु हुन्थ्यो, तब आइसीयुमा बस्नेहरू उठेर नाच्ने गाउँने गर्थे । आत्मबल बलियो बनाउनका लागि ।
हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडामा सङ्क्रमण घट्न नसक्नुको कारण के होला ?
गत वर्ष हामीले समयमै धेरै सावधानी अपनाएका थियौँ । त्यसले गर्दा धेरै सङ्क्रमण फैलिन पाएन । यसवर्ष म आफैँ सङ्क्रमणमा परेँ । अस्पतालमा बस्नुप¥यो । जसले गर्दा सोचे जसरी काम गर्न सकिएन । हाम्रो वडामा दिनमा २६ जना सम्मलाई दैनिक पाजेटिभ देखियो । तैपनि म अस्पतालमा बस्दासमेत विभिन्न क्षेत्रसँग समन्वय गरिरहेँ । प्रहरी टोलविकास संस्था आदिसँग समन्वय गरी सक्रिय बनाउने काम गरेँ । अहिले पनि म आफैँ चोकचोकमा पुगिरहेका छु । प्रहरीले गर्ने काम म आफैँले गरेको छु । अब सङ्क्रमण हुने दर घट्छ । अहिले नै सात आठ जनामा यो दर झरिसकेको छ भने अबको एक हप्ताभित्रमा एकदुई जनामा सङ्क्रमण दर झर्ने छ ।
सङ्क्रमण भएका मानिसहरू होम आइसोलेसनमा नबस्ने र जथाभावी हिँड्ने गरेको गुनासोहरू सुनिन्छ नि ?
मनिसमा धैर्य हुन सकेन । मलाई पोजेटिभ देखिएछ भन्दै बाहिर हिँडिरहको मैले पनि पाएँ । मानिसको स्वाभाव नै अरुले तह लगाइदिए तह लाग्ने र आफ्नो नियन्त्रणमा बस्न नसक्ने अवस्था देखियो । अहिले मैले वडामा व्यापक अभियान चालेको छु । अब एकहप्ताभित्रमा ९ नम्बर वडा सङ्क्रमणमुक्त हुने कुरामा विश्वास दिलाउन चाहन्छु ।