हेटौंडा, ३ जेठ ।
कोरोना संक्रमितको संख्या बढेसँगै धेरै मानिसहरु घरैमा आइसोलेशनमा बसिरहेका छन् । पछिल्लो समय अस्पतालका बेडहरु भरिभराउ भएका समाचारहरु बाहिरिने क्रम बढेको छ । यस्तो अवस्थामा संक्रमण पुष्टि भएका बिरामीलाई थप मानसिक तनाव थपिने पनि हुन्न सक्छ । तर, बिरामीको अवस्था जटिल भए मात्र अस्पताल जान स्वास्थ्यकर्मीहरु सुझाव दिन्छन् । बागमती प्रदेशमा अहिलेसम्म २ लाख ४७ हजार ७९३ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । संक्रमित मध्ये १ लाख ८९ हजार ६७३ जना निको भएका छन् , भने १ हजार ९१९ जनको मृत्यु भएको छ । ५ हजार ६ सय २०१ जना उपचाररत छन् ।

कोरोनाको भाइरसको सामान्य लक्षण देखिएका बिरामीले घरैमा आइसोलेशनमा बसि डाक्टरको आवश्यक परामर्श र सावधानिमा निको हुनेहरुको संख्या पनि निकै छ । तर, घरमा आइसोलेशनमा बस्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ, भन्ने कुरा सबैलाई जानकारी नहुन पनि सक्छ । यसै सन्दर्भमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईसँग सहकर्मी सम्झना श्रेष्ठले कुराकानी गर्नुभएको छ ।


अहिले धेरै मानिसहरु घरैमा आइसोलेशनमा बसिरहेका छन्, घरैमा आइसोलेशनमा बस्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ ?
घरमा आइसोलेशनमा बस्दा मुख्यत दुई तिन वटा कुरामा ध्यान दिन जरुरी हुन्छ । पहिलो कुरा व्यक्तिगत स्वास्थ्यको बारेमा ध्यान दिनु आवश्यक हुन्छ । आफुबाट अरुलाई संक्रमण हुने कुरालाई पनि याद गर्नुपर्छ । यस्तै व्यक्तिगत सरसफाईमा विषेश ध्यान दिनुपर्छ । जव कोरोनाको लक्षणहरु देखा पर्छ, ज्वरो बढ्न सक्छ, स्वाद हराउने हुनसक्छ, थकाइ लाग्ने जस्ता हुन सक्छ ।

यदि कोरोनाको बिरामीलार्ई सास फेर्न गाह्रो भयो भने स्वास्थ्यकर्मीसँग तुरुन्तै परामर्श लिनुपर्छ । यसैगरि अनावश्यक रुपमा औषधि सेवन गर्नुहुँदैन । शरिरमा अप्ठ्यारो हुँदाहुँदै पनि घरैमा बसिरहनु हुँदैन । मुख्यगरि घरमा आइसोलेशनमा बस्दा स्वास्थ्यकर्मीको परामर्श लिनु नै उपयुक्त हुन्छ ।


आइसोलेशनमा बसेका बिरामीले के कस्ता खाना खानु आवश्यक हुन्छ ?
आइसोलेशनमा बसेका बिरामीहरुले पनि नर्मल खाना खान सक्छन् । घरायसि खानाहरु अझ उपयुक्त हुन्छ, झोलिलो खानेकुरा खानु जरुरी हुन्छ । विषेशगरि सागसब्जी, फलफुल, पर्याप्त पानी पिउनु राम्रो मानिन्छ । यस्तै भिटामिन सी जन्य फलफूलहरु जस्तै कागती, अमला, अम्बा, केरा, स्याउ, आँप, अनार आदी खानु उपयुक्त मानिन्छ । यसका साथै अण्डा, दूध, ब्रेड, भूजा, हरियो सागसब्जी, दाल, माछा, मासु, दूध, गेडागुडी, च्याउ, प्रोटिनयुक्त खानेकुराहरु खानु पर्दछ ।

घरैमा आइसोलेशनमा बसेको बिरामी कतिबेला अस्पताल जान जरुरी हुन्छ ?
संक्रमण लामो हुँदै गयो, सास फेर्न अप्ठ्यारो हुँदै गयो, ज्वरोको मात्रा बढ्दै गयो र अक्सिजनको मात्रा कम भयो भने जोखिम बढेको भनेर भन्न सकिन्छ । यस्तो अवस्थामा आइसोलेशनमै बसिरहन हुँदैन, तुरुन्त स्वास्थ्यकर्मीको परामर्श लिनुपर्छ ।

शरिरमा अप्ठ्यारोपन देखियो भने आइसोलेशनमै बसिरहन हुँदैन यस्तो भयो भने ज्यान पनि जान सक्छ, त्यसैले बिरामीले नियमित स्वास्थ्यकर्मीको परामर्शमा रहनुपर्छ । बिरामी आफैँले र परिवार सदस्य तथा बिरामीको हेरचाह गर्ने व्यक्तिले पनि विषेश ध्यान दिनुपर्छ ।