हेटौंडा, ३ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः सपथग्रहण गराउनु पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वैशाख ३१ गते राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीले सपथ लिने क्रममा प्रतिज्ञा गर्दछु भन्ने शब्द छुटाएर ‘त्यो पर्दैन’ भनेको विषय सर्वोच्चमा पुगेको हो ।


वरिष्ठ अधिवक्ता चन्द्रकान्ता ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली, केशर जंग केसी, विरभद्र जोशी, सन्तोष भण्डारी लगायतले छुट्टाछुट्टै पेश गरेको रिट आज सर्वोच्चले दर्ता गरेको हो ।
प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गराएकोे सपथ संविधानसम्मत नभएको भन्दै बदर गर्नुपर्ने माग रिटमा गरिएको छ ।

यस्तै रिटमा प्रधानमन्त्री ओलीले सपथ पछि दोस्रो पटक नियुक्त गरेका मन्त्रीहरुको नियुक्तीे पनि बदर गर्न माग गरिएको छ ।

शुक्रबारनै प्रधानमन्त्री ओलीले सांसद पद नै नरहेका रामबहादुर थापा, टोप बहादुर रायमाझी, प्रभु शाहा, लेखराजभट्ट र गौरीशंकर चौधरीलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।