हेटौंडा, ३ जेठ ।
आज मदन–आश्रित स्मृति दिवस । पार्टीका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज एमालेले २८ औँ स्मृति दिवस मनाउँदै छ । तर, कोरोना सङक्रमण जोखिम र निषेधाज्ञाका कारण आज औपचारिक कार्यक्रम भने नभएको एमालेले जनाएको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीको महत्वपूर्ण भूमिका रहेको छ । मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ । मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरी जनताको बहुदलीय जनवादको सिद्धान्त मार्गदर्शनका रुपमा स्थापित भएको बताउनुभएको छ । साथै उहाँले तीन वर्ष अघि एमाले र माओवादी केन्द्रबीच भएको एकता समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न गरिएको प्रयास भए पनि एकीकरणको अभियान निष्कर्षमा पुग्न नसकेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने प्रतिवद्धता समेत जनाउनुभएको छ । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।
यसैबिच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितका हत्यारा पत्ता लगाउन माग गर्नुभएको छ । मदन आश्रित स्मृति दिवसको सन्दर्भमा श्रद्धाञ्जली दिँदै नेता नेपालले दासढुंगा जीप दुर्घटनामा निधन भएको २८ वर्ष बितिसक्दा पनि घटनाको रहस्य बाहिर नआउनु दुस्खद् भएको भन्दै यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षसँग माग गर्नुभएको हो ।
उहाँले घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको पनि बताउनुभएको छ । जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो रहेको नेपालको भनाइ छ ।