जनताको शक्तिः सूचना शक्ति
समय यस्तो थियो, हामीले पत्रकारिता गर्दा साप्ताहिक अखबारहरु दलहरु भन्दा बलिया थिए । काठमाडौंमै दैनिक अखबारहरुको प्रकाशन बढिरहँदा अवसर थियो । कुना कन्तराका सामग्रीले ठाउँ पाउँथे । पत्रकारिता जनताको आवाज थियो । पछि कर्पोरेट हाउसहरुको मुखपत्र पनि हुन थाले ।
रेडियो आयो । भोलिपल्ट समाचार दिने अखबारले नै मार खायो । टेलिभिजन आयो । शुरुमा त बिहान पत्रिकाले उठाएका विषयबस्तु साँझ टेलिभिजनमा समाचार हुन्थे ।
पछि टेलिभिजनले उठाएका विषयबस्तु पत्रिकामा समाचार हुन थाले । त्यतिमात्रै होइन, पत्रिका, रेडियो, टेलिभिजन एउटै मिडिया हाउसले चलाउन थाले ।
अनलाइन पत्रिका आयो । तर शैली साप्ताहिक अखबारकै स्वादमा थियो । साप्ताहिक पत्रिकाहरुको समाचारले अनलाइन चले । साप्ताहिक पत्रिकाले स्कुप मार्ने समाचार अनलाइनमा आउन थाले । फलस्वरुप साप्ताहिक अखबार पढ्ने कम हुँदै गएपछि उनीहरु पनि अनलाइन संस्करणमा आइपुगे ।
अब त मान्छे पत्रिका पढ्दैन । टिभी हेर्दैन । हातमा स्मार्ट फोन भएपछि सबै त्यसैमा छ । अझ सबै समाचार मिडियामा आउनु अघि सामाजिक सञ्जालमा भाइरल भइसकेको हुन्छ । मिडियाले तिनैमध्ये एउटा मुद्दा पच्छ्याउनु पर्छ । यस्तो बेला पत्रकारिताको मानक कसरी बनाउने ? मान्छेलाई कसरी पाठक बनाउने ? कसरी स्रोता बनाइराख्ने ? कसरी दर्शक बनाइराख्ने ?
चिन्ता होइन चिन्तन गरौँ । धेरैले भन्थे, अनलाइन आयो, अब पत्रिका र रेडियोका दिन गए । त्यसो होइन, अनलाइनमै रेडियो र पत्रिका आए । युट्युब आयो, टेलिभिजन चल्दैन । तर टेलिभिजनले युट्युबमा पनि उपस्थिति जनायो । यी सबैको विकल्प सामाजिक सजाल आयो । नागरिक पत्रकारिताको बहस आयो । तर आधिकारिकता के हो त ? आधिकारिकता त्यही हो, जो देश र जनताप्रति इमानदार भएर सञ्चारकर्म गरिरहेको छ ।
हो, हामीले सामाजिक सञ्जालको जञ्जालमा हराइरहेका नागरिकहरुलाई फर्काउनु छ । पत्रिका पढ्ने बनाउनु छ । टेलिभिजन हेर्ने बनाउनु छ । रेडियो सुन्ने बनाउनु छ । क्षणभरमै मनका भावना, कुन्ठा, खुशी, दुःख, समस्या, सफलता, सम्भावना, सुविचार सामाजिक सञ्जालमा पोख्ने जमातलाई पाठक, स्रोता, दर्शक बनाउने अभियान चानचुने होइन–छैन ।
हामीले यही भोग्यौँ, देख्यौँ, यही कर्ममा धेरै भोटो फटायौँ । अनि सजिलो काम त सबैले गर्छन् । केही अप्ठ्यारो काम पनि गरौँ न भनेर फेरि एकपटक रेडियो, अखबार सञ्चालनको प्रयास गरेका छौँ ।
यो प्रयास कुनै पनि आरोप, कुन्ठा, रंग, द्वैष, विभेद, पक्षको बाछिटामुक्त बनाउन हामी अभ्यासरत छौँ । तपाईंहरुलाई परैबाट यसको फरकपन, गाम्भीर्यता, जनवादी दृष्टिकोण, लोकहितको रागसँगै जनताको सुसूचित हुने अधिकारको पक्षधर हो भन्ने आभास गराउनु छ । अर्कातिर पत्रकारिताको गिर्दो मर्यादा बचाउन सबैभन्दा पहिला यो जमातमा पत्रकारिता बुझेकाहरुको उपस्थिति जरुरी छ भन्ने तपाईंलाई बुझाउनु पनि छ । सबैतिरबाट ‘जगेडा’मा परेपछि एक थान डटपेन, एउटा क्यामेरा, अझ अचेल त एउटा स्मार्ट फोनबाट अनलाइन, च्यानल चलाउनेहरुबाट पत्रकारिता बचाउनु छ । सबैतिर ‘फेल’ खाएपछि पत्रकारितामा आउने बाटोमा केही सीमाहरु लगाउनु छ । नत्र हामीले साना दुःखले पत्रकारिता ओरालो लगाएका छैनौँ । यसलाई उकालो लगाउन पनि सानोतिनो दुःख साध्य हुने छैन ।
हामी,
तपाईंका लागि
बगैँचा हुनेछ
भन्ज्याङ चौतारी हुनेछ
देउराली हुनेछ
रोधीघर हुनेछ
मन्दिर हुनेछ
गुम्बा बन्नेछ
मस्जिद देखिनेछ
चर्च बन्नेछ
पाठशाला बन्नेछ
विश्वविद्यालय बन्नेछ
र,
यी सबैमा पुग्ने जमाती
अन्त्यमा जाने शौचालय पनि हुनेछ
किनभने
भरियाहरु देउरालीमा सुस्ताउँछन्
बटुवाहरु भन्ज्याङ चौतारीमा थकाइ मार्छन्
भाकाहरु रोधीघर घन्काउनेछन्
हिन्दूहरु मन्दिरमा पुग्छन्
बौद्धमार्गी गुम्बा जान्छन्
मुश्लिमहरु मस्जिद पुग्नैपर्छ
इशाइहरु चर्चमा प्रार्थना गर्छन्
पढ्नेहरु पाठशाला जान्छन्
उच्चशिक्षाका लागि विश्वविद्यालय धाउनु पर्छ
र, यी कुनै पनि धर्म, जाति, पेशा विशेषले
नछेक्ने र सबै पुग्ने एउटा थलो हो शौचालय
व्यवस्थित शौचालय सही,
हाम्रा उत्पादनमा सबै भेटिनेछन्
सबैले आफ्नोपन महसुस गर्नेछन्
त्यसका लागि हाम्रो यात्रा शुरु भएको छ ।
तपाईंको साथ चाहन्छौँ ।
र, हामी भनिरहनेछौँ: सूचनाको शक्ति: जनताको शक्ति ।
रामकुमार एलन
अध्यक्ष, समूह प्रधान सम्पादक