हेटौंडा उपमहानगरपालिकाले हेटौंडाका स्वास्थ्यसंस्थामा अक्सिजनको व्यवस्थापन गर्न शुरु गरेको छ । उपमहानगरपालिकाले स्वास्थ्य संस्थालाई दैनिक रूपमा एकसय थान सिलिन्डर व्यबस्थापन गर्ने भएको छ । हेटौंडा अस्पतालमा अक्सिजनको अभावमा बिरामीको उपचारमा कठिनाइ हुन थालेपछि उपमहानगरपालिकाले अक्सिजनको व्यवस्थानमा गर्न थालेको हो । यसै विषयमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतसँग ज्योति न्यौपानेले कुराकानी गर्नुभएको छ ।
हेटौंडा उपमहानगरपालिकाले दैनिक १ सय सिलिन्डर अक्सिजनको व्यवस्थापन कसरी गर्छ ?
हामीले कोरोना सङ्क्रमितको स्वाब परीक्षणको काम पहिल्यैदेखि गर्दै आइरहेका छौँ । तर अहिले हेटौंडा अस्पतालमा अक्सिजनको अभावमा बिरामीहरूको उपचारमा समस्या भएको खबर आएपछि हामीले यस्तो निर्णय लिएका हौँ । हुन त अक्सिजन अभावको दीर्घकालीन समाधानका लागि अक्सिजन प्लान्ट नै राख्ने तयारी गरिरहका छौँ तर अहिले यसको प्रक्रिया केही लामो हुने भएकाले तत्कालीन समस्याका समाधानका लागि दैनिक १ सय सिलिन्डर अक्सिजन सङ्कलन गर्न लागिएको हो । उपमहानगरपालिकाको यस कार्यमा सबैको सहयोग पनि अपेक्षा गर्छु ।
अहिले सबैतिर अक्सिजनको हाहाकार भइरहेको समयमा कहाँ कहाँबाट अक्सिजन जुटाउन सक्छु जस्तो लाग्छ ?
यो हामीले आह्वान गरेका हौँ । म तपाइँको यो लोकप्रिय मिडियामार्फत पनि आह्वान गर्छु । अक्सिजन कहाँ पाइन्छ ? कसले उपलब्ध गराउन सक्छ ? त्यसको जानकारी दिनुहोस् । हामी खरिद गरेर ल्याउन तयार छाँै । अक्सिजनको जानकारी भएका सम्पूर्ण महानुभावहरूले हामीलाई सहयोग गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।
हेटौंडा उपमहानगरपालिकाले चाहिँ कसलाई यसको जिम्मेवारी दिएको छ ?
हामीसँग स्वास्थ्कर्मीहरू हुनुहुन्छ । ८९ जना स्वास्थ्यकर्मी रातदिन खटिरहनुभएको छ । १० जना स्वास्थ्यकर्मी हेटौंडा अस्पतालमा र बाँकीलाई आलोपालो आइसोलेसनहरूमा खटाइएको छ । उहाँहरूले पनि अक्सिजनको जोहो गर्ने काममा सहयोग त गर्नुहुन्छ तर कुनै एउटा फोकल पर्सनलाई हामीले जिम्मेवारी दिएका छैनौँ । अहिले मानव स्वास्थ्य सङ्कटमा परेको बेला सम्पूर्ण संयन्त्र यसैमा खटिएको छ । अहिले बिकास निर्माणकामहरू रोकेर कारोना रोकथाममा नगरपालिकाले ध्यान केन्द्रित गरिहेको छ । मानव जीवन बचाउनु अहिले नगरपालिकाको प्रमुख दायित्व हो । हामीले मात्र होइन प्रहरी, प्रशासन, स्थानीय सरकार, प्रदेश सरकार सबै यसैमा लागि परेका छौँ । यस काममा तपाइँ मिडियाहरूले पनि सहयोग गरिरहनु भएको छ र अझै गर्नुहुन्छ भन्नेमा विश्वस्त छु । सबै क्षेत्रले जहाँबाट जसको पहुँचले भ्याउँछ मिलेर अक्सिजन ल्याउने हो ।
कोरोना सङ्क्रमण परीक्षणको अवस्था कस्तो छ ?
गोरक्षेश्वरमा अहिले उपमहानगरपालिकाको सम्पूर्ण खर्चमा परीक्षणको काम भइरहेको छ । सङ्क्रमितहरूको अवस्था अनुसार उनीहरूलाई होम आइसोलेसन, गौरीटार आइसोलेसन वा अस्पतालमा पठाउने गरिएको छ ।
पछिल्लो समय होम आइसोलेसनमा बसेकाहरूको लापरबाहीले समुदायमा सङ्क्रमण फैलियो भन्ने गुनासो छ नि ?
कोरोना सङ्क्रमणबाट जोगिने भनेको सुरक्षित रुपमा बस्ने स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्ने हो । यसका लागि सबैभन्दा पहिले मानिस आफैँ सचेत हुनुपर्छ । आफूलाई बुद्धिजीवी ठान्ने मानिसले जथाभावी गरेर समुदाय सङ्क्रमण फैलाउनु भनेको मुर्खता हो । हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरू सङ्क्रमण नियन्त्रणका लागि खटिरहनुभएको छ । टोलविकास संस्थाहरू पनि व्यापक रुपमा परिचालित भएका छन् यति गर्दा पनि स्वास्थ्यमापदण्ड पालना नगर्ने सचेत नहुने हो भने आफू बसेको समाज आफैले सिध्याउनु मात्र हुन्छ । त्यसैले सबैलाई सुक्षित र शतर्कतापूर्वक बस्न अनुरोध गर्छु ।