-इन्दिरा पौडेल (प्रिया)
पर्ख न एउटा घर बनाउनु पर्छ ।
जहाँ ति आँखाबाट आँसु नझरोस् ।
पर्ख न एउटा घर बनाउनु पर्छ,
जहाँ बिवसताको नाम मा तिम्रा इच्छा नमरोस् ।
घर मा मान्छे हुँदाहुँदै पनि,
छिमेकीले तिम्रो औषधि ओसार्दै छ्न रे
पर्ख न एउटा घर बनाउनु पर्छ,
जहाँ आफ्नै सन्तानबाट तिम्ले तिरस्कार सहन नपरोस् ।
रुदै भन्थ्यौ रे मलाई जस्तो गर्यो,
मेरो छोरोले त्यो भोग्न नपरोस् ।
छोरी हुन्जेल मलाई सुख थ्यो,
उस्ले कैले दुख खेप्न नपरोस
तिमिलाई थाहा छ ?
तिम्री छोरी कि सासूपनि तिमी जस्तै रुँदै थिइन् रे
पर्खन आउदा पुस्तालाई सँस्कार सिकाउनु पर्छ,
ताकी ढुँगा भित्र्याई भगवान् बाहिर फाल्ने नगरोस् ।
पर्ख न मोति जोडि पोते उन्न पर्छ,
ताकी तिलहरी बेची धागो बेर्न नपरोस् ।
सन्तान पढाउन, बढाउन बेचेको त्यो माड्बारी,
फर्की फेरि हेर्न नपरोस् ।
दबाइ ल्याएन भन्दै किन निराश हुन्छौ ?
बुहारिलाई हार किन्न बचत हुँदै छ रे,
पर्ख न ममताको खेती सँगै मिलि फैलाउनु पर्छ,
जहाँ तिम्ले दुई गाँस को भार तिर्न नपरोस् ।
पर्ख न एउटा घर बनाउन पर्छ,
जहाँ ती आँखा बाट आँसु नझरोस् ।
पर्ख न एउटा घर बनाउनुछ,
जहाँ तातो पानी खान घस्री हिँड्न नपरोस् ।
पर्ख न एउटा घर बनाउनु पर्छ,
जहाँ आफ्ना छँदै पराईमा भर पर्न नपरोस् ।
पर्ख न एउटा घर बनाउनु पर्छ,
जहाँ महिनै पिच्छे छोराको घर सर्न नपरोस् ।