हेटौंडा, २ जेठ । तपाईंले चिनेको र सुनेको नारायणगोपालबारे तपाईंलाई पनि कति कुरा थाहा नहुन सक्छ, नारायणगोपालले आधुनिक गीत संगीतमा जीवन बिताउनु भयो । उहाँले लोकगीत पनि गाउनु भएको थियो, याद छ, कुन लोकगीतबाट नारायण गोपाल लोकगायनमा प्रवेश गर्नु भयो ?

हो, यही चुट्का झ्याउरे भाकाको गीतबाट नारायण गोपालसमेत लोकगायक हुनुभयो, कालजयी यो गीतका सर्जक को हुनुहुन्थ्यो, याद छ, छैन भने सम्झनुहोस्, गीतका लेखक हुन् चेतन कार्की । यिनै कार्कीको ८३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । र, नेपाली अमर अमर गीतसंगीतमा सदैव चेतन कार्कीको अभाव खट्किरहने गरी । ४० वर्ष बढी भयो, तीज आयो कि, एउटै गीतले गर्छ राज, सम्झना छ ?


यस्तै, कालजयी गीतहरु चलचित्रमा प्रयोग भए । नारायणगोपालले गाउनु भएको गीत चलचित्र परिवर्तनमा भने तीजको रहर चलचित्र कन्यादानमा । चलचित्र लेखन, निर्देशन, गीत लेखन, कथा, कविता, उपन्यास लेखनमा सक्रिय चेतन कार्कीका सम्पूर्ण जीवन नेपाली साहित्य, संगीतमै समर्पित रह्यो । कोरोना खेपिरहेका कार्की विक्रम सम्वत् १९९५ कात्तिक २२ गते स्याङ्जाको थुम आरुखर्कमा जन्मनु भएको थियो । हिन्दी र उर्दू साहित्यमा पनि चेतन कार्कीको संलग्नता थियो ।

कालजयी लोक, आधुनिक तथा चलचित्रका गीतहरुका लेखक कार्कीका शब्दलाई नारायण गोपाल, तारादेवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानलगायतका अग्रज गायकगायिकाले आफ्नो स्वर दिनु भएको थियो । कार्कीका उपन्यासहरु आत्मा बेचेको छैन, ढलेको गिलास, हनिमुन छन् भने कथासंग्रहमा बसिबियाँलो, माया पिरतीको कथा, जुन निदाउन थाल्यो गीत संग्रहसँगै हिन्दीमा कल्पना टुट चुकी है र उर्दूमा दिल गिजर के टुकडे प्रकाशित कृति छन् । चलचित्रहरु विश्वास, भूमरी, पहिलो प्रेमका निर्देशक कार्की २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट नेपाली चलचित्रमा प्रवेश गर्नु भएको थियो । एक अग्रज, कालजयी रचनाका स्रष्टा चेतन कार्कीमा हार्दिक श्रद्धासुमन ।