कविता:
–काव्या कट्वाल
सुन्दैछु तिमीले त कुर्सी बचायौ रे
बिडम्बना ! मैले आफन्त बचाउन सकिनँ
तिम्रोमा बधाई दिनेको घुइँचो छ रे,
म त मलामी जानसम्म पाइनँ
तिम्रा घरअगाडि चिल्ला गाडीका लस्कर हुँँदा
मैले बिरामी बोक्न एम्बुलेन्स पाइनँ
साथीहरु मिलेर मिठो लड्डु खाँदै छौ रे,
मैले पेटभरि अन्न पाइनँ
सुन्दै छु चिसोमा हिटर गर्मीमा एसी मिलायौ रे,
मैले सास फेराउन एक मुठ्ठी अक्सिजन पाइनँ
आफूलाई चटक्क मिलेको दौरा सुरुवाल सिलायौ रे,
मैले लास ढाक्ने कात्रो पाइनँ
सिंहदरबारभित्र तिमी घुम्ने कुर्सीमा घुम्दै गर्दा,
मैले अस्पतालमा शैया खोज्दा पाइनँ
आफूलाई फेरि सर्वशक्तिशाली बनायौ रे,
मैले श्रद्धाको आँसु झार्नसम्म पाइनँ
–हालः दुबइ