–प्रदीप ढुंगाना
बाटो हिँड्दा कोहीसँग कुम ठोक्किएमा ‘माफ पाउँ है नेताज्यू’ भन्नु पर्ने स्थिति छ । नेता पनि चानचुने होइनन्, कुनै न कुनै पार्टीका केन्द्रीय सदस्य भएको हुनसक्छ । तपाईंहरुलाई थाहै छैन, भनुँ कसरी, केही वर्षअघि नेकपा माओवादीले ४ हजार सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । पछि नेकपाका अध्यक्ष हुँदा केपी शर्मा ओलीले पनि १ हजार ५ सय जतिको केन्द्रीय समिति बनाउनु भएको थियो । ७ सय ५३ स्थानीय तह भएको देशमा वडैपिच्छे केन्द्रीय सदस्य, एकै घरमा दुईवा सो भन्दा बढी केन्द्रीय सदस्य, एकभन्दा बढी पार्टीका केन्द्रीय सदस्य, त्यति नभए प्रदेश, जिल्ला सदस्य अनि यो पनि भाग नपाउनेले वडाध्यक्ष वा सदस्य एकाघरमा, यसो भनिरहँदा कति होच्याएको नेताहरुलाई भनेर तपाईं नेता परिवारको भए रिस र जनता परिवारको भए काउकुती लाग्न पनि सक्छ । तर यो भलिभाँतीका नेताहरुको देश हो भन्नेमा तपाईंलाई अविश्वास छ र ?
अब जोडिउँ कोरोनातिर, हुन त वैशाख सकिएको छ, देशमा विकास हुने एक महिना भनेको जेठ नै हो । जति पनि विकास हुन्छ, जेठमा गर्नु पर्छ, डाँडामा पहेँलो जिनिसले ढिस्को भस्काइरहेको हुन्छ, सम्ममा अलकत्रा पोलेर हिँडिसाध्य हुँदैन, नाकै थुनेर हिँड्नु पर्ने विकासे महिना हो जेठ । तर यतिखेर देशमा विकासको बखान सरकारका प्रधानमन्त्रीले बाहेक अरुले गरिहाल्ने बेला छैन, कारण हो, आमजनता कोरोनाको सन्त्रासबाट आहत छन् । त्यो पनि ३३ करोड देउता भएको देशमा दोस्रो पटक आएको कोरोनाको तेस्रो नयाँ लक्षण कुरिरहँदा ।
यस्तो किन लेखिरहनु, अस्पतालमा बेड छैन, औषधि छैन, अक्सिजन छैन, उपचार छैन । हामी एउटा मिडियामा लेख्छौँ, तपाईं ५० वटा मिडिया हेर्नुहुन्छ, पढ्नुहुन्छ, हामीलाई भन्दा तपाईंलाई कण्ठाग्र होला । नेताहरुलाई उद्घाटन, शिलान्यास, भाषण, शपथ, नियुक्ति, सम्बोधनमा भ्याइनभ्याइ छ, सामाजिक सञ्जालसमेत यस्तै रैथाने सामग्रीले भरिएका छन्, तपाईंहरु सामाजिक सञ्जालबाट पनि विरक्त भएको हो कि भन्ने अनुमान गलत नहोला । हो, हामीसँग केही छैन, छ भने नेता, सरकार, छिमेकीलाई गाली गर्न फेरि यही थुतुनो छ, यही सामाजिक सञ्जाल छ ।
अब तथ्यांक हेरौँ, विश्व बैंकका अनुसार, नेपालमा एक लाख जनतालाई हेर्न एक जना डाक्टर पनि छैनन् । तर ३ करोड जनतालाई यति धेरै नेता छन् यही देशमा । तथ्यांकअनुसार, २ डाक्टरले करिबकरिब ३ लाख जनतालाई सेवा दिनु पर्छ । ३ लाख जनसंख्या भनेको चैँ विकसित राजधानी भएको भनिएको झण्डै झण्डै प्रदेश राजधानी भएको जिल्लाको जनसंख्या हुनपुग्छ । यति भनेपछि अब अनुमान गर्नुहोस्, देशमा डाक्टरको उपलब्धता कस्तो छ ?
तपाईं सकभर अस्पताल जान नपरे हुन्थ्योजस्तो गर्नुहुन्छ, गर्नु पर्ने पनि यही हो । किनभने कथम्कदाचित भेन्टिलेटरमै बस्ने सुविधा पाउने बिरामी हुनु पर्ने अवस्था आयो भने ६० हजार जनता बराबर १ भेन्टिलेटर छ देशमा । फेरि यही देशमा १८ हजार जनताको भोट पाइयो भने उस्तै परे प्रदेशमा मुख्यमन्त्री पड्काउन पाइन्छ । तपाईंलाई जानकारी नै होला, नेपालका सरकारी र निजी अस्पतालमा जम्मा ५ सय भेन्टिलेटर छन् । एउटा भेन्टिलेटर पाउन पनि हामीले गएको चुनावमा परिवारका सबैले तपाईंलाई भोट हालेको भन्दै नेतालाई गुहार लगाउनु पर्ने अवस्था छ, आफ्नै पैसाले भेन्टिलेटर सुविधा लिन पनि ।
यी त डाक्टर र भेन्टिलेटरका कुरा भए । अब सामान्य अवस्थामा पनि आवश्यक पर्ने आइसियुको तथ्य पनि हेरौँ । १९ हजार जनतालाई एउटा आइसियु बेड भाग पर्छ । सरकारी र निजी अस्पताल गरेर जम्मा १६ हजार आइसियु छन् । तपाईंलाई सम्झाइदिउँ, कोरोना नआउँदै, भूकम्प गएपछि डा. गोविन्द केसीले अनशन बस्ने सालतिर टिचिङ अस्पतालकै डाक्टरले आफ्ना बाबुलाई आइसियु मिलाउन नसकेर जागिर छाडेका थिए । यस्तो छ आइसियु पाउन धामा । यहाँ पनि नेताका पाउ मोल्नै पर्ने प्रणाली हामीले पछिल्लो ४० वर्षमा विभिन्न तन्त्रहरु परिवर्तन गर्दै गजबैले बनाएछौँ ।
करिब १ महिनाअगाडि दैनिक १ सय ५० व्यक्ति कोराना संक्रमित हुन्थे, अहिले १ हजार प्रतिशत बढेर दैनिक १० हजारको हाराहारीमा कोरोना संक्रमित छन् । मर्नेको संख्या पनि बढ्दो छ । संघीयता कार्यान्वयनको उपलब्धी ७७ जिल्लामध्ये २२ जिल्लामा स्वास्थ्य सुविधा दिन भौगोलिक कठिनाइ छ, जहाँ औषधि पुग्दैन, त्यहाँ डाक्टर जाने कुरै भएन । नेता भरोसेमा त्यहाँका जनता बाँच्नु पर्ने अवस्था छ । नेताले केही हुन्न, बाँच्छस् भने पनि आशीर्वाद हुने अवस्था छ । फेरि यही भूगोलका जनतालाई बसमा ओसारेर हाम्रा नेताहरुले र्याली, सभामा कोरोना फैलन मदत पुग्ने गरी भिड देखाएकै हुन् । कोरोना यसरी बढेको भन्दा नेताहरु नरिसाउन् ।
अब धेरै आक्रोशित नबनौँ, हुनेखानेले हेलिकोप्टर चार्टर गरेर धनसम्पत्ति सकाएर प्राण भिख माग्नु परेको छ । नेताहरुले सत्ता जोगाउनै लुछाचुँडीमा चार वर्ष बिताए । देशमा फेरि चुनावको चर्चा हुन थालेको १ सय दिन बितेको छ । बढीमा ३ सय दिनभित्र त चुनावको तिथिमिति तोकिनै पर्छ, चुनाव हुनैपर्छ । जनता मरे पनि, दुःखमा भासिए पनि बाँचेका जतिले भोट हाल्न पाउनु नै नेपाली हुनुको गर्व गर्ने अवस्था आउनुमा हामी अति सोझा भएर, बोल्दै नबोलेर त होइन ?
दोहोर्याएर आएको कोरोनाको दोस्रो चरणबाट तेस्रो चरणको प्रतीक्षा गर्दै लकडाउन खेपिरहेका बेला जनसंख्याको जम्मा ८ प्रतिशतले कोरोनाको खोप लगाएका छन् । ९२ प्रतिशतलाई खोप कहिले ? सत्ता चैँ भए बहुमतको, नभए ठूलो दलको हैसियतले पनि सबैले दाबी गरेका छन् । यति मात्र होइन, ब्रिटेनको अखबारमा लेख लेख्दै प्रधानमन्त्रीले कोरोना कहरमा नेपाल र नेपालीलाई सहयोग गर्न अपिल गरेका छन् । नेपालमा भने मिडियालाई मैत्री बनाउन रुची नभएका सरकारलाई पनि सत्ताको मुखबोली बोल्न फेरि मिडिया नै चाहिनेरहेछ । कोरोनाको तेस्रो लहर आउने समयमा, देशमा भएका अक्सिजन प्लान्टहरु चल्न सकेका छैनन्, यतिखेर सरकारसँग उनीहरुको पनि गुनासो छ, समय छँदा अनेक बहानामा कच्चा पदार्थको मूल्य बढाएर उद्योग चल्न नदिने, यतिखेर उद्योग चलाउ भन्ने ? अब खुल्ने सबै अस्पताललाई मापदण्ड दिउँ कि, बिरामीलाई पुग्ने अक्सिजन प्लान्ट छ कि छैन ?
भात खाने खेत बन्धकी राखेर युवा विदेश गएका छन् । उनीहरुले मातृभूमिमा अक्सिजन अभाव भएको पीडा ठूलो माने । कोरोनाले जागिर नचल्दा, गुम्दा या गुम्ने अवस्थमा पीडा खेपिरहेकाहरु देशमा अक्सिजन नभएको खबरले इन्तु न चिन्तु भएर भात खाने पैसा कटाएर अक्सिजन पठाइरहेका छन् । यही अक्सिजन लिन जाँदा पनि ‘खोइ मलाइ कमिसन’ भन्नेहरु सरकारमै छन् । आएको अक्सिजन पनि समानुपातिक ढंगले वितरण सबैलाई गर्न नसक्ने अवस्थामा देश पुर्याएको कसले ? जनता र देउता धेरै भएको देशमा के जनताले छटपटिँदै प्राणको भिख मागिरहनु पर्ने हो ? जनता रहे न सत्ता चाहिने हो, जनता नै मरिरहेका छन् भने सत्तालिप्साले मात्रै राजनीतिक अभिलाषा पूरा हुँदैन । याद राखौँ, खेत रहे न बाली खाने हो ।