हेटौँडा, १५ माघ । रवि लामिछानेले नेपाली नागरिकता पुनः पाएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर आफुले अमेरिकी नागरिकता त्याग गरेको निस्सा बुझाएपछि नेपाली नागरिकता पुनः प्राप्ति गरेका हुन् ।

लामिछानेले २०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । प्रशासनले पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता लामिछानेलाई दिएको छ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए ।

यसपछि आइतबार समर्थकसहित उनी पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।