–गोपाल ढकाल, मनोविद्

कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउँदै लगेकोछ । मानिसहरुमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपत्तिका बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वाभाविक नै हो । यसलाई असामान्य अवस्थामा मानिसले देखाउने स्वाभाविक प्रक्रिया मानिन्छ । तर लामो समयसम्मको डर, चिन्ता, भय, तनाव हुनु भने राम्रो होइन । यसले शारीरिक तथा मानसिकरुपमा कमजोर बनाउँदै लैजान्छ । तनावले रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । कोरोना संक्रमणलाई जित्न रोग प्रतिरोधात्मक क्षमता मजबुत हुनु पर्छ ।

कोरोनाको संक्रमणसँग लड्न शरीरमा रोग प्रतिरोधात्मक शक्ति आवस्यक पर्छ भने मानसिक वा मनोवैज्ञानिकरुपमा मनोबल (आत्मबल वा आत्मशक्ति) उच्च हुनुपर्छ ।

शरीरिक रुपमा स्वस्थ्य हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित खानपिन, व्यायाम, पर्याप्त आराम र निन्द्रा आवस्यक पर्छ ।

जसरी व्यक्तिको आआफ्नै शारीरिक क्षमता हुन्छ, त्यसैगरी प्रत्येक व्यक्तिको आआफ्नै मानसिक क्षमता पनि हुन्छ जसलाई साइकिक इनर्जी वा आत्मबल वा आत्मशक्ति पनि भनिन्छ । कुनै कार्यमा सफलता पाउन, कुनै घटना वा परिस्थिति सामना गर्न व्यक्तिमा भएको मनोबलले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।
आत्मबल उच्च भएको व्यक्तिमा आत्मविश्वाश पनि उच्च नै हुने गर्दछ ।

हामीले सुन्दै आएका छौँ, कोरोना संक्रमण जित्न मनोबल उच्च बनाउनु पर्छ । कोरोना जितेकाहरुको पनि एउटै भनाइ छ, ‘मनोबल उच्च भए कोरोना भाइरस जित्न सकिँदोरहेछ ।’ कोरोनाको भ्याक्सिन भनेकै मनोबल हो । तर आत्मबल वा मनोबल कसरी उच्च बनाउने ? मनोबल बढाउँछु भन्दा आफैँ बढ्ने पनि होइन । के गर्यो भने आत्मबल उच्च हुन्छ ? यस्ता छन् मनोबल बढाउने व्यवहारिक घरेलु उपायहरूः

१. सुरक्षाका उपाय अपनाउनु पर्छः
कोरोना संक्रमणबाट बच्न सुरक्षाका उपायहरू कडाइसाथ अवलम्बन गर्नुपर्छ । भिडभाडमा नजाने, मास्क प्रयोग गर्ने र बारम्बार साबुन पानीले हात धुने । यसो गर्दा संक्रमण हुनबाट जोगाउने नै भयो । साथै मानसिकरुपमा पनि आफू सुरक्षित छु भन्ने कुरामा मन ढुक्क हुन्छ । आत्मबल उच्च हुन्छ ।

२. कोरोनासँग लड्न मानसिकरुपमा तयार हुनुपर्छ ।
य‍ो प्रकृति विपत्ति भएकाले हाम्रो हातमा छैन । यो समस्या विश्वको नै साझा समस्या हो । यसकारण यसलाई स्वीकार गर्नुको विकल्प छैन । कथम्कदाचित संक्रमण भएको खण्डमा पनि यसलाई सामना गर्छु भन्ने मनस्थिति बनाउनु पर्छ । जस्तो पर्छ त्यस्तै टर्छ होइन कि मानसिकरुपमा तयार भएर बस्नुपर्छ । यसले हामीलाई संक्रमणसँग जुझ्न सहज बनाउँछ । कोरोनाको डर, चिन्ता, भय कम भएर जान्छ ।

३. परिस्थितिप्रति सकारात्मक धारणाः
समय सधैँ एकैनास हुँदैन । अहिलेको समय कठिन भए पनि एक दिन अवश्य टरेर जान्छ । भागवत गीतामा भने झैँ ‘जे हुन्छ राम्रो कै लागि हुन्छ ।’ त्यसैले आत्मविश्वास र धैर्यता कायम राख्नुपर्छ। मनोबल उच्च राख्दा आत्मविश्वास र धैर्यता दुवै बढेर जान्छ । यस्तो बेला आत्तिनु हुन्न भनेर सोच बनाउनु पर्छ । कोर‍ोना संक्रमण भए पनि मरिन्छ नै भन्ने हुँदैन । कोरोना संक्रमणका कारण हुने मुत्यदर अत्यन्त न्युन छ । रोग प्रतिरोधात्मक क्षमता र आत्मबलले संक्रमणलाई जित्न सकिन्छ भन्ने सोच बनाउनु पर्छ । रोग प्रतिरोधात्मक क्षमता र आत्मबल दुवैलाई आफैँले बढाउन सकिन्छ भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

४. हौसला तथा प्रेरणाः
विपतको समयमा हौसला र प्रेरणा अति आवस्यक हुन्छ । घरपरिवार, आफन्त तथा साथीभाइको हौसला, प्रेरणा र आत्मीयताले विपत्तिसँग जुझ्न ऊर्जाको काम गर्छ । विपत्तिका समयमा आफूलाई साथ दिने, आफ्नो भावना बुझ्ने तथा हौसला दिने व्यक्तिहरुसँग आफ्नो मनका भावनाहरु बाँड्ने गर्नुपर्छ । संक्रमणका बेला प्रेरणादायी भनाइ सुन्ने, किताब पढने र चलचित्र वा भिडियो हेरेर समय बिताउने प्रयास पनि उचित हुनसक्छ । आफूले आफैँलाई आत्मसुझाव दिएर पनि हौसला बढाउन सकिन्छ । जस्तै ‘म ठीक छु, स्वस्थ छु, ठीक हुँदै गएको छु’ जस्ता शब्दहरु बारम्बार उच्चारण गरेर आत्म–सुझाव दिन सकिन्छ । आफ्ना विभिन्न सबल पक्षहरु लेख्ने, मनन वा उजागर गर्ने अभ्यासले पनि आत्मबल बढ्छ ।

५. मनोसामाजिक सहयोगः
विपतका बेला विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको जोखिम बढेर जान्छ । लामो समयसम्मको मनोवैज्ञानिक तनाव, मनोसामाजिक समस्या वा मानसिक रोगले व्यक्तिको आत्मबल र आत्मविश्वासलाई कमजोर बनाउन सक्छ । यस्तो अवस्थामा भौतिक सहयोग मात्र पर्याप्त हुँदैन । मनोवैज्ञानिक वा मनोसामाजिक सहयोगको पनि जरुरत पर्दछ । यस्तो बेला विज्ञको सहयोग चाहिन्छ । मानसिकरुपमा स्वस्थ व्यक्तिमा मात्र आत्मबल र आत्मविश्वास राम्रो हुन्छ ।

६. तनाव व्यवस्थापनः
तनावले शारीरिक तथा मानसिकरुपमा शिथिल बनाउँछ । विपतका समयमा त झन तनाव बढ्ने नै भयो । नियमितरुपमा योग–ध्यान, व्यायाम गर्ने, गहिरो श्वासप्रश्वासको अभ्यास गर्ने, शुद्ध सन्तुलित भोजन गर्ने, पर्याप्त मात्रामा सुत्ने र आराम गर्नुपर्छ । यसले तनाव कम गर्न मदत पुर्‍याउँछ । ध्यानले मनलाई शान्त राख्न सहयोग गर्छ ।

७. आनन्दायक क्रियाकलापः

कोरोना कहर र निषेधाज्ञाको समयमा आफ्नो रुचिका विषय र क्रियाकलापमा धेरै समय बिताउनु पर्छ । जस्तो आफूलाई मन पर्ने किताब पढ्ने, चलचित्र हेर्ने, संगीत सुन्ने, लेख्ने, आफ्नो आस्था विश्वासअनुसारका धार्मिक कार्यमा भाग लिने, पूजापाठ गर्ने, चाडपर्व मनाउने, मनोरञ्जन लगायतका विषयमा सक्रिय हुनाले एक त समयको सदुपयोग हुने भयो, अर्कोतर्फ दैनिकी सहज बनाउन सकिन्छ । आफूले दैनिक गर्ने कार्यलाई निरन्तरता दिनु पर्छ । नत्र खाली दिमाग सैतानको घर हुन सक्छ ।
आफ्ना रुचिकर कुरामा समय बिताउँदा तनाव कम हुने, आनन्दसँग दिन बित्ने हुँदा सकारात्मक सोचको विकास हुनुका साथै आत्मबलसमेत बढ्छ।

८. सकारात्मक जीवनशैलीः
कोरोना संक्रमण र निषेधाज्ञाले अहिले व्यक्तिको जीवनशैलीमा समेत पहिला भन्दा परिवर्तन आएको छ । तनावका बेला व्यक्तिले कि त सकारात्मक व्यवहार देखाउँछ कि नकारात्मक व्यवहार देखाउँछ । सकारात्मक जीवनशैली अपनाएको खण्डमा व्यक्ति चाँडै पूर्ववत अवस्थामा फर्कन सक्छ । आत्मबल पहिलाजस्तै उच्च हुन्छ । तर नकारात्मक जीवनशैलीले भने समस्या जटिल हुँदै जान्छ । विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगले घर गर्नसक्छ । हाम्रो दैनिक जीवनशैली र क्रियाकलाप आफू र अरुलाई हानिरहित र सकारात्मक हुनुपर्छ ।

९. सत्यतथ्य सूचना र जानकारीः
विपत्तिका समयमा अनेक किसिमका अफवाह फैलिन सक्छ। तनावको बेला हाम्रो निर्णय लिने, समस्यालाई बुझ्ने क्षमतामा पनि कमी आउँछ । हामी भावनामा बग्न सक्छौँ । यस्तो अवस्थामा हामीले तथ्यपरकरुपमा सोच्ने र समस्या बुझ्नसक्ने हुनुपर्छ । विषयबस्तु र घटनालाई हेर्ने दृष्टिकोण सही बनाउनुपर्छ । आधिकारिक सूचना तथा समाचार मात्र हेर्ने गर्नुपर्छ । समाचारहरु बारम्बार हेर्ने र सुन्ने गर्नु पनि हुँदैन । यस्ता समाचारहरु दिनमा १–२ पटक भन्दा बढी नहेरेकै राम्रो हो । दुखद समाचारहरु हेर्दा र सुन्दा पनि हामीमा बेचैनी, निराशा, छट्पटी बढेर आउनसक्छ । मन दुःखी हुन्छ । तनाव बढ्छ । यसले मानसिक आघात पनि हुन सक्छ ।

१०. सीप, तालिम र शिक्षाः
कुनै पनि विषयमा आवस्यक सीप, तालिम र शिक्षा पाउँदा आत्मविश्वास तथा आत्मबल अवस्य बढ्छ नै । कोरोनाको संक्रमणका बेला मनोसामाजिक स्वास्थ्यका विषयमा मनोशिक्षा, स्वहेरचाहका विषयमा जानकारी तथा सरसफाइलगायत अन्य विषयको तालिमले आत्मबल बढाउन मदत गर्छ । (मनोविद् ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा संलग्न हुनुहुन्छ)