हेटौंडाः १ जेठ ।


जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञामा कडाइ गरेपछि नक्कली प्रेस कार्ड बनाएर निस्कनेहरू फेरि बढ्न थालेका छन् । विभिन्न सञ्चारगृहका नक्कली कार्ड बनाएर अनावश्यक हिँडडुल गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक चेतावनी दिएर छाडेको छ ।

शनिबार हेटौंडाको बुद्ध चोकबाट तीनलाई पक्राउन गरी आवश्यक अनुसन्धानपछि छाडिएको छ । हेटौंडाको एक मिडियाको नक्कली कार्ड बोकेर बा ११ च ७८९० नम्बरको गाडीमा २ महिला र बच्चा बोकेर हिडेका कृष्णबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बुद्धचोकमा जाँचको क्रममा लामाले मिडियाको चालक पदको कार्ड बोकेका प्रहरीले बताएको छ । उनी पत्रकार नभएको जानकारी पाएपछि नियन्त्रणमा लिएको थियो ।


पक्राउपछि जिल्ला प्रहरी कार्यलय पुगेका नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले अब नक्कली प्रेस कार्ड बोकी नहिँड्ने शर्तमा छाडिदिन आग्रह गरेपछि प्रहरीले एक पटकका लागि उनीहरू छाडिदिएको अध्यक्ष गौतमले बताउनुभयो । उनीहरूले किरियापुत्री भेट्नका लागि नक्कली प्रेस कार्ड बनाएर हिँडेको स्वीकारेका छन् ।


शुक्रबार पनि हेटौंडामा केही व्यक्ति नक्कली पत्रकार बनेर हिँडेको प्रहरीले पहिचान गरेको थियो । उनीहरूलाई प्रहरीले नियन्त्रण लिन खोज्दा भागेका थिए । यसरी नक्कली प्रेस कार्ड लिएर हिंड्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताउनुभयो । उहाँले कुनै मिडियाको नाममा कार्ड बोकेको हिँडेमा सम्बन्धित मिडिया हाउस नै जिम्मेवार हुनपर्ने र अनावश्यक कार्ड नदिनसमेत चेतावनी दिनुभयो ।