हेटौंडा, १ जेठ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिङ–१९ को महामारीका कारण स्थगन भएको २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने बताउनुभएको छ । शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा पद बहालीपछि निर्देशन दिँदै मन्त्री श्रेष्ठले यस्तो जानकारी दिनुभएको हो ।

जेठ १३ देखि सञ्चालन हुने गरी तय भएको एसईई र जेठ २६ गतेदेखिका लागि तय भएको कक्षा १२ को परीक्षा कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डको वैशाख २७ गते सोमबार बसेको बैठकले दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । जसले गर्दा परीक्षा तयारी गरेर बसेका विद्यार्थीमा अन्योलता छाएको छ । गत वर्ष सम्बन्धित विद्यालयलाई आन्तरिक मूल्याङ्कन गराई प्रमाणीकरण गरिएको थियो ।

मन्त्री श्रेष्ठले महामारी रोकथाममा शिक्षा क्षेत्रले गर्न सक्ने सहयोगका विषयमा पनि चाँडै छलफल गरिने बताउनुभयो । मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटिइभिटीको) सन् २०२१–२०२५ को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरी बहाली गर्नुभएको हो ।