हेटौँडा, जेठ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानका लागि एकतावद्ध भएर अघि बढन सबैलाई आह्वान गरेका छन् ।

शुक्रबार सपथग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका उनले कोभिड संकटले जनतालाई प्रताडित तुल्याएको उल्लेख गर्दै ती समस्या समाधानमा केन्द्रित भएर लाग्न सबै राजनीतिक दल, नागरिक समाज, सामाजिक अभियन्ता, संघ–संस्था, उद्योगी व्यवसायी सबैलाई आग्रह गरेका हुन् । त्यस अवसरमा मन्त्री गुरुङले कोभिडले ल्याएको संकट समाधानका लागि ‘कोभिड फोकस’ कार्यक्रम तत्काल ल्याई कार्यान्वयनमा लैजाने प्रतिवद्धता समेत व्यत्त गरे ।

“कोभिडका कारण सर्वसाधारणले ज्यान गुमाउनु परेको छ, संक्रमणको प्रताडना व्यहोर्नु परिरहेको छ,” मन्त्री गुरुङले भने, “त्यसो हुन नदिन मन्त्रालयले कोभिड फोकस कार्यक्रम तत्काल घोषणा गरी कार्यान्वयन गर्नेछ ।” उनले मन्त्रालय मातहतका सबै निकायलाई कोभिड संकट समाधानमा केन्द्रित भएर काम गर्न पनि उनले सचेत गराए ।