३१ वैशाख


एमाले विवाद मिलाउन बसेको वार्तामा २०७५ जेठ २ गतेको वरपर रहेर पार्टीका समस्या समाधान गर्ने सहमति भएको छ । शुक्रबार दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्तामा यस्तो सहमति भएको हो ।


करिब ३ घण्टा चलेको वार्तामा माधव पक्षका नेता भीम रावलले पार्टी एकता कायम राख्न र पार्टीलाई अघि बढाउन गम्भीरतापूर्वक छलफल भएको जानकारी गराउनुभयो । ‘२०७५ जेठ २ भन्दा अघिको एमालेलाई आधार मानेर अरु छलफल अघि बढाउने कुरा भयो । त्यसका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर कार्यदल टुंग्याउने कुरा भएको छ । फेरि तुरुन्तै बसेर वार्ता हुन्छ’ रावलले भन्नुभयो । त्यस्तै कार्यदललाई पूर्णता दिन अध्यक्ष केपी ओली र माधव नेपाललाई जिम्मेवारी दिएको पनि उहाँले बताउनुभयो । कार्यदललाई पूर्णता दिएसँगै अर्को बैठक चाडै बस्ने नेता रावलको भनाइ छ ।


सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयमा भएको वार्तामा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडैल, रामबहादुर थापा र लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेल सहभागी थिए । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल वार्तामा थिए ।