हेटौँडा, २४ पुस । कुमारी बैङ्क र नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क एक आपसमा गाभिएर आइतबारदेखि ‘कुमारी बैङ्क लिमिटेड’को नामबाट कारोबार सञ्चालनमा आएको छ ।

दर्जनभन्दा बढी बैङ्क तथा वित्तीय संस्था ‘मर्ज’ गरिसकेको ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार आगामी सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट हुँदैछ ।

प्रभु बैङ्कले सेन्चुरी कमर्सियल बैङ्कलाई प्राप्ति गरेपछि सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा मङ्गलबारदेखि ‘प्रभु बैङ्क लिमिटेड’ का नामबाट हुँदैछ ।

यस्तै बुधबारदेखि नै नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्क नेपाल मर्ज भएर नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्दैछन् । हिमालयन बैङ्क र सिभिल बैङ्क पनि आगामी माघदेखि एकीकृत कारोबार सुरु गर्दैछन् ।

पुस महिनामा मात्रै पाँचवटा वाणिज्य बैङ्कको सङ्ख्या घट्ने भएको छ । कुनै बेला ३२ सम्म पुगेको वाणिज्य बैङ्कको सङ्ख्या अब भने २१ मा सीमित हुने भएको छ ।

लामो समयसम्म २७ वटा रहेका वाणिज्य बैङ्कको सङ्ख्या नबिल बैङ्क र नेपाल बङ्गलादेश बैङ्कले गत असार २८ देखि एकीकृत कारोबार सुरु गरेपछि वाणिज्य बैङ्कको सङ्ख्या २६ वटामा झरेको थियो ।

१५ वटा नै पर्याप्त

राष्ट्र बैङ्कको एक अध्ययनले नेपालमा वाणिज्य बैङ्कको सङ्ख्या बढी भएको तथा बढीमा १५ वटा वाणिज्य बैङ्कमात्र मुलुकमा आवश्यक भएको देखाएको छ । बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या घटाउन मर्जर तथा एक्विजिसनमा जान सो अध्ययनले सुझाएको छ । साथै प्रतिस्पर्धा नहुनेमा चनाखो बन्न पनि सुझाव दिएको छ ।

अध्ययनमा सहभागी विज्ञले मर्जरले बैङ्क तथा वित्तीय संस्थाको स्वामित्व सीमित व्यावसायिक समूहको नियन्त्रणमा पुग्ने भन्दै आम सर्वसाधारणले सुविधा नपाउने खतरा औँल्याएका छन् ।

गाभ्न र गाभिन प्रोत्साहन

बैङ्क तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्न÷गाभिन प्रोत्साहित गर्ने राष्ट्र बैङ्कको नीतिगत व्यवस्थालाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिनेसम्बन्धी विनियमावली, २०७३ कार्यान्वयनमा आएपछि गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)को कार्यले गति लिएको छ । २०७९ असार मसान्तसम्म कुल २ सय ४७ वटा बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभिएर ६८ वटा संस्था कायम भएका छन् । यो अवधिमा भएका गाभ्ने–गाभिने तथा प्राप्तिका कुल आठवटा कार्यमध्ये गाभ्नेरगाभिने (मर्जर)तर्फ तीन र प्राप्ति (एक्विजिसन)तर्फ पाँचवटा कार्य सम्पन्न भएको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले चालू आर्थिक वर्षदेखि मर्जरमा जाने बैङ्कलाई सहुलियत नदिने बताएपछि असारयता नै आधा दर्जन बढी बैङ्कले मर्जरमा जाने सम्झौता गरेका थिए । राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुससम्म एकीकृत कारोबार गर्ने बैङ्कले मात्रै नियामकीय सुविधा पाउने बताएको छ । यसले गर्दा उनीहरूलाई चाँडै मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार थाल्न दबाब बढेको छ ।

ठूलो बैङ्क बन्दै ग्लोबल आईएमई

दुई दर्जन बैङ्क तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको ग्लोबल आईएमई बैङ्क पछिल्लो समय बैङ्क अफ काठमाण्डूसँग ‘मर्ज’ भएपछि मुलुककै ठूलो वाणिज्य बैङ्क बन्दैछ । ‘मर्जर’पश्चात् बैङ्कको कुल पुँजी ५७ अर्ब रुपियाँ, चुक्तापुँजी ३५.७७ अर्ब, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपियाँभन्दा बढी पुग्ने भएको छ ।

२१ वटा बैङ्क तथा वित्तीय संस्था गाभिएर बन्ने ग्लोबल आईएमई बीओके लिमिटेडमा पाँचवटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क तथा छवटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।

साथै, दुवै बैङ्कले असोज मसान्तसम्म एक अर्ब ४७ करोड रुपियाँभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् ।

दुई बैङ्कको मर्जरपश्चात् कुल ३ सय ९६ शाखा कार्यालय, ३ सय ६८ एटीएम, २ सय ७५ शाखा रहित बैङ्किङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आईएमई बीओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैङ्क हुने भएको छ । गोरखापत्र दैनिकमा भेषराज बेलबासेले समाचार लेख्नु भएको छ ।