हेटौंडा, ३१ वैशाख ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोभिड विपद व्यवस्थापन कोष निर्माण गरेको छ । कोरोना प्रभावित सञ्चारकर्मीहरूको उपचार तथा सहयोगको लागि कोष निर्माण गरेको महासंघका महासचिव कृष्ण सारु मगरले बताउनुभयो ।
कोषमा महासंघ प्रदेश समितिले दुई लाख पचास हजार रुपैयाँ जम्मा गरिसकेको छ । साथै इच्छुक सञ्चारकर्मी, सञ्चारउद्यमी, सञ्चारगृह, सरकारी तथा गैरसरकारी निकाय, उद्योगी/व्यवसायी तथा अन्य शुभेच्छुकहरूलाई कोषमा रकम सहयोग गरिदिन पनि महासंघले आग्रह गरेको छ ।
सहयोग गर्न चाहनेले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको राष्ट्रिय बाणिज्य बैंक हेटौंडा शाखामा रहेको खाता नम्बर: १३००००३६६१०१ मा रकम जम्मा गरिदिनहुन वा पत्रकार महासंघ बागमती प्रदेश समितिका पदाधिकारीहरूलाई सम्पर्क गरी सहयोग गरिदिन पनि अनुरोध गरेको छ ।
महासंघले विज्ञप्तिमा अग्रभागमा रहेर समाचार सङ्कलन गर्दा पूर्ण स्वास्थ्य सकतर्कता अपनाउन पनि आग्रह गरेको छ भने कोरोना सङक्रमण भई स्वास्थ्यउपचार गराइरहेका सञ्चारकर्मीहरूसहित सबै नागरिकको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
यसैगरी महासंघले हेटौंडासहितका स्वास्थ्यसंस्थाहरूमा तत्काल स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्रीहरुको उचित ब्यवस्थापनको लागि बागमती प्रदेश सरकारको ध्यनाकर्षण गराएको छ ।
संघीय राजधानी समेत रहेको बागमती प्रदेशको विभिन्न स्वास्थ्य संस्थाहरूमा पर्याप्त स्वास्थ्यकर्मी, अक्सिजनसहित अन्य स्वास्थ्य सामग्रीको अभावले उपचारमा समस्या भएको गु्नासो बढेकाले तत्काल व्यवस्थापनमा ध्यान पु¥याउन आग्रह गरेको विज्ञप्तिमा जनाइएको छ ।