हेटौंडा, ३१ वैशाख ।


मकवानपुरको थाहानगरमा कोरोना सङ्क्रमणको दर घट्न सकेको छैन । कोरोनाको दोस्रो लहर शुरू एपछिमात्र १ सय ७५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । बिहीबार पीसीआर परीक्षण गराउन पुगेका २१ जनामध्ये १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । बिहीबार वडा नम्बर १ मा ४, २ मा १, ३ मा ३, ५ मा २ र १० नम्बरमा २ जना सङ्क्रमित थपिएका हुन् । यहाँ औसतमा दैनिक १३ जनामा सङ्क्रमण देखा परेको छ ।


अहिलेसम्म सङ्क्रमण देखा परेकामध्ये ८ जना सङ्क्रमणमुक्त भएका छन् । २ जनाको मृत्यु भएको छ भने ६ जना अन्यत्र अस्पतालमा उपचार गराइरहेका छन् । १ सय ५९ जना होम आइसोलेसनमा रहेको डा. रिकेश कार्कीले जानकारी दिनुभयो । होम आइसोलेसनमा रहेका सबै बिरामीहरूको अवस्था सामान्य रहेको डा. कार्कीले बताउनुभयो ।प्रारम्भमा सामान्य लक्षण देखिनासाथ सुरक्षित नबस्ने र स्वास्थ्य परीक्षण नगर्नाले सङक्रमण बढिरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । शक्तिखबरसँग कुरा गर्दै थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले पर्याप्त कीटको अभावका कारण परीक्षणको दायरा बढाउन नसकिएको र कन्ट्रयाक ट्रेसिङ गर्न नसकिएको बताउनुभयो । कीट खरिदका लागि नगरपालिकाले पहल गरिरहेको पनि उहाँले बताउनुभयो ।


थाहा नगरपालिका कृषिको पकेट क्षेत्र भएकाले पनि अहिले निषेधाज्ञा कडाइका साथ लागू हुन सकेको छैन । यसले गर्दा पनि कोरोना सङ्क्रमण घट्न नसकेको बताइएको छ । नगर प्रमुख बिष्ट पनि यो कुरा स्वीकार गर्दै खेतबारीमा काम गर्ने किसानहरू आ–आफ्नो खेतबारीमा काम गरेकाले तर अनावश्यक हिँडडुल गर्न भने नदिइएको बताउनुहुन्छ । सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न र शतर्क भएर बस्न सूचना प्रवाह गर्नुका साथै नगरपालिकाभरि माइकिङसकेत गरिरहेको उहाँको भनाइ छ ।

नगरपालिकाले कोभिड अस्पताल स्थापना गर्न पनि नसकेको उहाँको भनाइ छ । सामान्य उपचारका लागि आइसोलेसन स्थापना गरिएको छ । तर अस्पतालका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणको अभावका कारण कोभिड अस्पताल स्थापना नगरिएको प्रमुख बिष्टले बताउनुभयो ।