हेटौंडा, ३० वैशाख ।
संसदबाट एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा वलिले विश्वासको मत नपाएपछि ओली पदमुक्त हुनुभएको छ । यससँगै राष्ट्रपति विद्यादेवि भण्डारीले नयाँ सरकार गठनका लागि दिनुभएको तीन दिनको समयसिमा आज सकिँदैछ ।

यस अवस्थामा राजनितक दलहरुले नयाँ सरकार गठनका लागि निकै कसरत गरेका छन् तर, कुनै निचोड भने निस्किएको छैन । आज एमाले स्थायी कमिटि बैठक बसेको छ । आजको बैठकले नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतालाई गरेको कारबाही फुकुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता विष्णु रिमालले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले ओली–दाहाल नेतृत्वको नेकपालाई अवैध मान्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ओलीले नेपालसहितका नेतालाई कार्वाही गर्दै ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्नुभएको थियो ।

तर, यही वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भई पदमुक्त हुनु परेपछि प्रधानमन्त्री ओलीले नेपालसहितका नेतामाथिको कार्वाही फुकुवा गर्नुभएको हो ।

ओली पदमुक्त भएकाले रिक्त प्रधानमन्त्री पदमा आज राति ९ बजेसम्म बहुमतको सरकारका लागि दाबी पेश गर्न दलहरुलाई राष्ट्रपतिले समय दिएकामा ओलीलाई हटाउन नेपाल पक्षका सांसदहरु राजीनामा समेत दिन तयार भएपछि यो कदम चालिएको हो ।