हेटौँडा, १८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा भ्रष्टाचार नियन्त्रण माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

आइतबार पार्टीका नेता भरत पराजुली, सुरेश थापा, जिल्ला उपाध्यक्ष निराजन बर्तौलालगायतको टोली कार्यालय पुगेर भ्रष्टाचारको गन्ध आउने गरी काम भइरहेकाले तत्काल रोक्न माग गर्दै ज्ञापन पत्र पेश गरेको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिसी डा. विश्वराज जोशीलाई ज्ञापन पत्र बुझाइएको हो । ज्ञापनपत्रमा १० करोड रुपैयाँ आफूनिकटलाई दिन टेण्डर नगरी टुक्रा पारेर पाँच–पाँच लाख रुपैयाँ बाँडिएको, ठेक्का दिँदा स्पेसलकमा आफन्तलाई पार्ने काम गरिएको, कुनै अमुक पार्टीका कार्यकर्ता भर्तीकेन्द्र बनाइएको आरोप लगाइएको छ ।

ज्ञापनपत्र बुझ्दै भिसी जोशीले कमीकमजोरी सच्याउँदै अघि बढ्ने बताउनु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत अमर अधिकारीले भने भिसी जोशीको देवत्वकरण गर्दै जोशी नभएको भए यो पनि केही हुन्थेन भनेर पार्टीका नेता कार्यकर्तालाई सम्झाउन खोेजेका थिए । उनले शुरुमा हतारमा काम गर्नुपर्दा बजेट टुक्रा पारेर सानोतिनो भ्रष्टचार हुन गएको घुमाउरो पाराले स्वीकारेका थिए ।

यस्तै, पार्टीले स्वास्थ्य निर्देशनालय पुगेर निर्देशक महेश्वर श्रेष्ठलाई पनि कार्यालयबाट भइरहेको भ्रष्टाचार रोक्न माग गर्दै ज्ञापन पत्र दिएको थियो । ज्ञापन पत्रमा विभिन्न शीर्षकमा ३ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको, ७० लाख रुपैयाँको छपाइको काममा भ्रष्टाचार भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको विषय उल्लेख छ ।

ज्ञापन पत्र बुझ्दै निर्देशक श्रेष्ठले अनियमितता भएको भए सरकारका छानबिन गर्ने निकायहरु रहेको र हल्लाका भरमा हिँड्दा राष्ट्रिय स्वतन्त्र पार्टी पनि हल्का हुने भन्दै सल्लाह र सुझाव दिएपछि पार्टीका नेताहरुले अदालत, अख्तियार सबै भए पनि बदमासी नरोकिएकाले खबरदारी गर्नु परेको भनेपछि निर्देशक श्रेष्ठले ‘चिया खाउँ’ भनेर टारेका थिए ।

यसअघि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पनि भइरहेको भ्रष्टाचार रोक्न पार्टीले ज्ञापन पत्र बुझाइसकेको छ । ‘स्वास्थ्य जनताको आधारभूत आवश्यकता हो,’ नेता भरत पराजुलीले भन्नुभयो, ‘बागमती प्रदेशमै स्वास्थ्यमा यति धेरै विकृति देखिएकाले अभियान शुरु गरेका छौँ ।’