हेटौँडा, १४ मंसिर । बागमती प्रदेशमा प्रत्यक्षतर्फ १४ सिट जितेको नेकपा माओवादी केन्द्रले कथमकदाचित मुख्यमन्त्री पाएको अवस्थामा कसलाई अघि सार्ला ? यो प्रश्न माओवादीभित्र पनि पेचिलो बनिरहेको छ ।

पार्टी पोलिटब्युरो सदस्यद्वय शालिकराम जमरकट्टेल र कुमारी मुक्तान अघिल्लो प्रदेश सरकारमा उपस्थिति थिए भने यसपटक माओवादीले प्रत्यक्षमा एक सिट गुमाए पनि नयाँ अनुहारहरु पनि मुख्यमन्त्रीको दाबी गर्दै विजित भएकाले माओवादीले बागमती प्रदेशमा कसलाई अघि सार्ला भन्ने जिज्ञासा सर्वत्र छ ।

नेकपा माओवादी केन्द्रका बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल सिन्धुपाल्चोकबाट विजयी भएपछि उनको मुख्यमन्त्रीमा चर्चा हुन थालेको छ । सिन्धुपाल्चोकमा नेकपा एमालेलाई निल पार्दै गठबन्धन विजयी भएपछि स्थानीय तह निर्वाचनमा पनि बागमतीका धेरै पालिकामा माओवादीलाई सेट गर्न सफल भएको श्रेय पाएका सहयात्री स्वाभाविकरुपमा मुख्यमन्त्रीमा चर्चा भएका पात्र हुन् ।

सिन्धुपाल्चोकको प्रतिनिधिसभा १ ख बाट सहयात्री एमालेका होमनारायण श्रेष्ठलाई पराजित गर्दै विजयी भएका हुन् । सहयात्रीले १७ हजार २ सय ५६ मत ल्याएका थिए ।

यस्तै, बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि मकवानपुरबाट यसपटक मुख्यमन्त्रीको चर्चा भएका अर्की पात्र हुन् । दोहोर्याए बागमती प्रदेश सभामा प्रवेश पाएकी मोक्तान माओवादी पोलिटब्युरो सदस्य पनि हुन् । मकवानपुर २ को क बाट एमालेका विष्णुप्रसाद ढकाललाई तीन सय २२ मत अन्तरले हराउँदै विजयी मुक्तानले १९ हजार ८ सय ७३ मत पाइन् । माओवादीले बागमती प्रदेश सरकारमा नेतृत्व पाएमा आदिवासी, जनजाति, महिलालाई अघि सार्दा मोक्तान सबैभन्दा बलिया पात्र हुन् ।

यस्तै, धादिङ क्षेत्र नम्बर १ को ख बाट गठबन्धनका उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल पनि बागमती प्रदेशमा मुख्यमन्त्रीमा अहिलेसम्मका सबैभन्दा बलिया र बढी चर्चा भएका पात्र हुन् । अघिल्लो प्रदेश सरकारमा पनि माओवादीका संसदीय दलका नेता रहेका जमरकट्टेल सहमतिको सरकारका पक्षमा रहेका थिए । यसपटक माओवादीले उनलाई मुख्यमन्त्री बनाउँछ भन्नेमा धेरै आसावादी छन् ।

एमालेका गजेन्द्र थपलियालाई सात हजार चार सय २५ मतअन्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका हुन् ।

जम्कट्टेलले १९ हजार नौ सय तीन मत प्राप्त गरेका थिए । बागमती प्रदेश सरकारमा दुई वटा मन्त्रालय सम्हालिसकेका जमरकट्टेल माओवादी पोलिटब्युरो सदस्य पनि हुन् । मुख्यमन्त्रीमा अहिलेसम्ममा उनको दाबी सबैभन्दा बलियो रहेको माओवादी पंक्तिको पनि जिकिर छ ।

यस्तै, सिन्धुली–२ ख मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ विजयी भएपछि बागमती प्रदेशमा अर्का मुख्यमन्त्रीका उम्मेदवारका रुपमा उनलाई हेरिएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले एमाले का रामकुमार पौडेललाई ३ हजार २ सय १२ मतान्तारले हराएका हुन् । श्रेष्ठले १३ हजार एक मत पाएका थिए ।

वरियताका हिसाबले श्रेष्ठ माओवादीका वरिष्ठ नेतामा पर्छन् । यति मात्र होइन, चितवनमा संकटमा परेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई गोर्खा लगेर सहज जित निकाल्दै फेरि बाबुराम–दाहाल समीकरण अघि बढ्न खोजिरहँदा बाबुरामका सबैभन्दा प्रिय पात्र श्रेष्ठको जितसँगै बागमती प्रदेशमा सिन्धुलीले पनि मुख्यमन्त्रीको दाबीमा श्रेष्ठलाई अघि सार्ने अनुमान गरिएको छ ।

श्रेष्ठ सहयात्री, मोक्तान, जमरकट्टेल भन्दा माओवादीमा वरिष्ठ नेता हुन् । ‘माओवादी कमजोर बनिरहेको अवस्थामा बाबुरामलाई साथमा राख्न र फकाउन पनि श्रेष्ठलाई मुख्यमन्त्री दिएर बागमतीमा माओवादी संगठन सुदृढ बनाउने दाहालको सपना हुनसक्छ,’ माओवादीका एक नेताले भने, ‘मतगणनाको परिणामपछि गठबन्धनको भागभण्डामा माओवादीलाई बागमती प्रदेश परे श्रेष्ठ मुख्यमन्त्रीको उम्मेदवारमा बलिया पात्र हुन् ।’