हेटौंडा, वैशाख ३० ।
नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि आज बिहिबार ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दै छन् । पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो इलिमिनटेर राउण्डको विजेता ललितपुरसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि सुरु हुने खेलको विजेताले शनिबार धनगढी एफसीसँग फाइनल खेल खेल्ने छ । काठमाडौं पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भएर दोस्रोपल्ट अवसर पाएको टोली हो । ललितपुरले भने बुधबार इलिमिनेटर चरणमा बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गर्दै काठमाडौंसँगको भेट पक्का गरेको हो ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारीे प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।