हेटौंडा, २९ वैशाख ।
मकवानपुर जिल्लाका स्वास्थ्य संस्थामा अक्सिजनको अभाव हुन नदिन अक्सिजन व्यवस्थापन समिति गठन गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले समिति गठन गरेको हो ।
हेटौडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सुपेन्द्र कार्कीको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रशासकीय अधिकृत दिलिपकुमार श्रेष्ठ, हेटौडास्थित तीनवटै अक्सिजन सप्लायर्सका प्रमुखहरू सदस्य रहने निर्णय गरिएको छ ।
समितिले हेटौडा अस्पताललगायतका स्वास्थ्य संस्थाहरूमा अक्सिजनको अभाव हुन नदिन नियमित आपूर्तिको व्यवस्था मिलाउने र सोको जानकारी दैनिकरूपमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिनुपर्ने छ । यस्तै बैठकले जिल्लामा भेन्टिलेटर, आइसीयु÷ एचडीयु बेड, आइसोलेसन, अक्सिजन सिलिण्डर आदिको व्यवस्थापन गर्ने र थप स्वास्थ्यकर्मीहरू खटाउन आवश्यक सहयोग गर्न आगामी बैठकमा स्पष्ट योजना पेश गर्न समितिलाई आग्रह गरेको छ ।
जिल्लाभित्र कोभिड–१९ संक्रमण बढ्दै गएकोले मौजुदा स्वास्थ्यकर्मी र आइसीयु बेडहरूले धान्न नसक्ने भएपछि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डले जानकारी दिनुभएको छ ।