-प्रदीप ढुंगाना
हाल कोभिड–१९ ले विश्व नै आक्रान्त भइरहेको छ । विकसित देशदेखि विकासोन्मूख सबै देशहरू अहिले यसको चपेटामा परेका छन् । कोरोनाको पहिलो लहरले युरोपियन मुलुक र आर्थिक रुपले सम्पन्न रहेका देशहरूलाई समेत छाडेन । अत्यधिक धनजनको क्षति पु¥यायो ।
अहिले कोरोनाको दोस्रो लहरले सबैजसो देशलाई गाँजेको छ । विशेषतः छिमेकी देश भारतमा दैनिक सङ्क्रमणदर र मृत्युदर हेर्दा स्थिति यसै होला भनेर अन्दाज गर्न सकिने अवस्था छैन । छिमेकी देश भारतको कुरा मात्र हैन । हाम्रै नेपालमा पनि सङ्क्रमणदर र मृत्युदर कहालीलाग्दो अवस्थामा छ । गत वर्ष अर्थात् पहिलो लहरले नेपाल र नेपालीलाई माया नै गरेको थियो । पहिलेको जस्तै त हो नि भनेर हेलचेक्रयाइँ गरेर आम नागरिकले सोचिरहेको देख्दा नेपालमा पनि भयावहको अवस्था नआउला भन्न सकिन्न । स्वास्थ्य सावधानी र सतर्कता नअपनाउने हो, भने भारतको जस्तै नेपालमा पनि स्वास्थ्य सङ्कट पर्ने दिन त्यत्ति टाढा छैन ।
हामी प्रशासनलाई आँखा छल्न मैै व्यस्त छौँ । मास्क, सेनिटनइजर अनि सामाजिक दुरी लगायतका स्वास्थ्य सावधानी प्रशासका लागि हो भन्ने हाम्रो मानसिकता छ । र उनीहरूकै लागि मात्र पालना गरिरहेका छौँ । यो नितान्त प्रशासनको हितमा छ भन्ने सोच राखी लापरवाही गरिरहेका छाँै । तर, यो तपाईँ हामीहरूकै हितका लागि हो । प्रशासनले भनेको हामीहरूले अटेर गरिरहेका छौँ । नियमहरूलाई हेलचेक्य्राइँ गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । यसले गर्दा हामीले आफ्नो घर, गाउँ, समाज र सिङ्गो देशलाई असुरक्षित गराइरहेका छौँ ।
स्थानीय प्रशासनले लगाएको निषेधाज्ञालाई आम नागरिकहरूले यसैगरी लापरवाही गर्दै जाने हो भने स्थिति भयावह हुनेमा दुई मत छैन । नेपालमा सङ्क्रमण दर र मृत्युदर दिनानुदिन बढ्दै गइरहेको छ । यसलाई हेर्दा पनि हामीहरूले स्वास्थ्य सावधानी अपनाउनु पर्दछ भन्ने चेतना विकास हुन नसक्नुमा कमजोरी हाम्रो कि स्थानीय प्रशासनको ? प्रशासनले भनेको कुरा र निर्देशनलाई पालना गर्दै स्वास्थ्य सावधानी अपनाउनु हाम्रो पहिलो प्राथमिकता हो ।
तर, स्थानीय प्रशासनको कमजोरी भने नभएको होइन । प्रशासनको पनि कमी–कमजोरीहरू पनि छन् । प्रशासनले आवत–जावतमा कडाइ गरिरहेको छ तर, बिहान बेलुकीको चहलपहल हेर्दा कोरोना रोकथाम हैन, मानिसमात्र रोकथाम गरे जस्तो देखिन्छ । दिउसोको समयमा बजार सुनसान र मानिसको आवतजावतमा कडाइ र नियन्त्रण भए पनि बिहान १० बजेसम्म र बेलुकी ५ बजेभन्दा पछाडिको अवस्था साँच्चै चिन्ताजनक छ । बिहान र बेलुकीको अवस्था हेर्ने हो भने सामान्यतया कोरोनाको सङ्क्रमण दिउसो कार्यालय समयमा मात्र फैलँदो रहेछ भन्न सकिन्छ ।
बजार, कलकारखानाहरू बन्द छन् तर पनि मानिसहरूको आवत–जावतमा आशातीत कमी आएको छैन । प्रशासनले दुई हप्ता पूर्ण रुपमा आवतजावत बन्द गराउने हो भने कारोना सङ्क्रमणदर घट्न सक्छ । अहिले त आवश्यकीय सामग्रीहरूको खरिदका लागि निश्चित समय तोक्ने कार्यले झन् भिडभाड बढेको देखिन्छ । पूर्ण रुपमा मकवानपुरका नागरिकहरूलाई थोरै अप्ठ्यारो परेता पनि असम्भव छैन । अवस्था अनुसार सजिलो पार्नु र सहजीकरण गर्नु भने अवश्य पर्दछ ।
अरू बेलामा हार्डवेयर र अन्य सामानहरू ओसारपसार गर्ने स–साना व्यक्तिगत सवारी साधन, अटो, मयुरीहरूले अहिले तरकारी र खाद्य सामाग्री बोकेर गाउँ–गाउँ पुगिरहेका छन् । असावधानीपूर्वक तरकारी, साग–सब्जी खाद्यान्न बोकेर गाउँ र घर–घर डुल्दा कोरोना बजारबाट गाउँमा र गाँउबाट बजारमा ओसार–पसार भइरहेको देखिन्छ । मकवानपुरको विशेषतः धेरै भू–भाग ग्रामीण भेगमा पर्ने हुँदा खाद्यान्न र तरकारीहरू गाउँकै करेसाबारीमा धेरथोर सबैसँग हुन्छ । तर यसो भन्दैमा ढुवानी रोक्ने भन्न खोजिएको होइन, पहिले देखि नै ढुवानी गर्दै आएकाहरूलाई व्यवस्थित तवरले ढुवानी गर्ने अनुमति दिँदै निरीक्षण गर्नुपर्ने आवश्यकता हो ।
एक अर्कामा दोषारोपण गरिरहने बेला यो होइन तर पनि देखिएका समस्याहरूलाई इङ्गित गर्नु हाम्रो कर्तव्य पनि हो ।अहिलेको समयमा सबैले आ–आफ्नै स्थानबाट एक अर्कालाई सहयोग गर्दै ‘बाँचौ र बचाऔँ’ भन्ने अभियानमा लाग्नुको बिकल्प छैन ।
स्वाथ्य सावधानी अपनाउँदै मिलीजुली बस्दै आपसी सद्भाव कायम गर्नु पर्दछ । स्थानीय प्रसाशनको नीति र आदेशलाई पालना गर्नु नै कोरोना सङ्क्रमणलाई रोकथाम गर्न सहयोग गर्नु हो ।