हेटौंडा, २९ वैशाख ।
हेटौंडाका अधिकांश विद्यालयहरूले कक्षा ११ र १२ को अनलाइन कक्षा सञ्चालन गरिरहे पनि प्रभावकारीता भने कम पाइएको छ । हेटौंडा उपमहानगरपालिका भित्रकै विद्यालयमा विद्यार्थी सहभागीता सन्तोष जनक देखिएको छैन । अधिकांश विद्यालयमा ५० प्रतिशतभन्दा कम विद्यार्थी सहभागी हुने गरेको पाइएको छ ।
हेटौंडा उपमहानगरपालिकाभित्रका प्रगति मावि, आधुनिक राष्ट्रिय मावि, सिद्धार्थ मावि, वंशगोपाल मावि, महेन्द्र मावि तथा हेटौंडा क्याम्पसमा बुझ्दा अनलाइन कक्षामा ५० प्रतिशत विद्यार्थी सहभागी हुने गरेको पाइएको छ । हेटौंडा ९ स्थित प्रगति माविले कक्षा ११ र १२ का कक्षाहरू विहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिहरको छ । मङ्सिर महिनादेखि नियमित विद्यालय सञ्चालन भइरहेको अवस्थामा पुनः कोभिडका कारण विद्यालय बन्द गर्नु परेपछि निर्धारित पाठ्यक्रम पूरा गर्न अनलाइन कक्षा सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक निरन्जन ढकालले जानकारी दिनुभयो ।
अहिले सञ्चालन भइरहेको कक्षामा ५० प्रतिशतमात्र विद्यार्थी सहभागी भएको अङ्ग्रेजी विषयका शिक्षक श्रीकृष्ण प्याकु¥यालले बताउनुभयो । यसैगरी पदमपोखरीस्थित महेन्द्र माविले सञ्चालन गरेको अनलाइन कक्षामा पनि विद्यार्थीको सहभागीता अत्यन्त न्यून रहेको प्रधानाध्यापक विष्णु श्रेष्ठले बताउनुभयो । उहाँले ४०÷४५ प्रतिशत विद्यार्थी सहभागी हुने गरेको बताउनुभयो ।
आधुनिक माविले कक्षा ८, १०, ११ र १२ को अनलाइन कक्षा सञ्चालन गरिरहेको शिक्षक दीपक अधिकारीले बताउनुभयो । उहाँले कक्षा ११ र १२ का ५० प्रतिशत विद्यार्थी सहभागी हुने गरेको तर ८ र १० को भने अत्यन्त कम विद्यार्थी सहभागी हुने गरेको जानकारी दिनुभयो । यसैगरी सिद्धार्थ माविले पनि कक्षा ११ र १२ को मात्र अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । सिद्धार्थ माविमा पनि ५० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा सहभागी हुने गरेको विद्यालयका सामाजिक विषयका शिक्षक बालकुमार श्रेष्ठले बताउनुभयो । हेटौंडा ६ चौघडामा रहेको वंश गोपाल माविले भने अब अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरेको बताएको छ । हेटौंडा क्याम्पसले कक्षा ११, १२ तथा बी.एड. तहको कक्षाहरू अनलाइनबाट सञ्चालन गरिरहेको र विद्यार्थीको उपस्थिति दर पनि ५० प्रतिशत रहेको शिक्षक सरोज लामिछानेले बताउनुभयो ।
कोरोना सङ्क्रमणपछि विद्यालयमा भौतिक रुपमा उपस्थित भएर पठनपाठन गर्ने अवस्था नरहे पछि विद्यालयहरूले अनलाइन कक्षालाई निरन्तरता दिएका हुन् । गत वर्ष पनि शैक्षिकसत्र शुरुवातदेखि नै उपमहानगरपालिकाभित्रका विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका थिए । त्यतिबेला विद्यार्थीको उपस्थिति सन्तोषजनक रहेको थियो । यस्ते अवस्था रहे नयाँ शैक्षिक सत्रका लागि पनि अनलाइन कक्षाको तयारीमा रहनु पर्ने देखिन्छ ।