हेटौंडा, २९ वैशाख
पछिल्लो समय राजनीतिक दलका नेताहरूले आफ्नो विचार व्यक्त गर्ने माध्यम सामाजिक सञ्जाल बनाएका छन् । राष्ट्रिय चासो र महत्वका विषयमा अहिले केन्द्रीय नेताहरूले समाजिक सञ्जाल फेसबुक र ट्विटरका माध्यमबाट आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।
बुधबार बिहान जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समाजिक सञ्जाल ट्विटरमार्फत देशको अहिले सङ्कट समाधानका लागि भन्दै आफ्ना धारणा सार्वजनिक गर्नुभएको छ । चार बुँदामा उल्लेख गरिएको सुझावमा संविधानको धारा ७६ (२) बमोजिम सर्वदलीय सरकार गठन गर्नुपर्ने र यसको नेतृत्व वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकको अन्य व्यक्तिलाई दिनुपर्ने बताउनुभएको छ ।
यसैगरी दोस्रो बुँदामा सबै दलका प्रमुख र पूर्व प्रधानमन्त्रीसमेत सम्मिलित निर्देशक समिति बनाउन सुझाव पेश गर्नुभएको छ । तेस्रो बुँदामा साझा न्यूनतम कार्यक्रमहरू ल्याउनु पर्ने बताउनुभएको छ । जसमा कोभिड नियन्त्रणका लागि कार्यक्रम ल्याउनुपर्ने, संविधान संशोधन र आर्थिक राहतका कार्यक्रम ल्याउन साझा सहमति बनाउनुपर्ने उहाँको सुझाव छ ।
साथै चौथो बुँदामा एक वर्षभित्र गर्नेगरी सहमति गर्न पनि उहाँले प्रस्ताव गर्नुभएको छ ।