हेटौंडा, २९ वैशाख ।
कोरोना भाइरसका कारण बागमती प्रदेशले एक सदस्य गुमाउनु परेको छ । नेकपा एमालेका बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाइँको कोरोना सङ्क्रमणका कारण मङ्गलबार साँझ मृत्यु भएको हो । उहाँको काठमाडौँस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो ।
बैशाख २१ गते कोरोना सङ्क्रमण भएपछि होम आइसोलेसनमै रहनुभएको चौलागार्इँ स्वास्थ्यमा थप जटिलता थपिएपछि अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँ गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
उहाँको निधनमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत चौलागाइँको निधनले आफू निःशब्द र दुखित भएको उल्लेख गर्दै “बागमती प्रदेशसभा सदस्य,असल नेता आदारणीय कमरेड पशुपति चौलागाईं प्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।” भन्नुभएको छ । यसैगरी नेकपा एमाले बागमती प्रदेशसभा सदस्य तथा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले पनि नेता चौलागाइँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । एमाले मकवानपुरका प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले पनि नेता चौलागाइँको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेकपा एमालेका राष्ट्रय सभा सदस्य रामचन्द्र राईले दुःख व्यक्त गर्दै कल्पना गर्न नसकिने घटना भएको उल्लेख गर्नुभएको छ । दोलखा जिल्लाका बासिन्दाहरूले पनि समाजिक सञ्जालमार्फत दोलखालीहरूको आस्था र विश्वासको एक धरोहरको अन्त्य भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
२०२० सालमा जन्मिनुभएका चौलागाईं २०३६ देखि २०३८ सालसम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष रहनुभएको थियो । २०३७ देखि २०४७ सालसम्म नेकपा मालेको दोलखा जिल्ला कमिटी सदस्य भएर जिम्मेवारी सम्हाल्नुभएका चौलागाईं २०४२ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापति पनि हुनुभएको थियो ।
२०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन निर्वाचित हुनुभएका उहाँ २०६३÷६४ को अन्तरिम व्यवस्थापिका संसद हुनुहुन्थ्यो भने २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७१ देखि ७५ सालसम्म उहाँले एमालेको पोलिटब्युरो सदस्यको भूमिकामा रहेर काम गर्नुभएको थियो । उहाँका तीन सन्तान श्रीमती हुनुहुन्छ ।