निषेधाज्ञा उल्लङ्घन गर्ने प्रहरी नियन्त्रणमा
हेटौंडा, २८ वैशाख ।
मकवानपुर जिल्लाका चार स्थानीय तहमा जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा प्रभावकारी देखिएको छैन । पछिल्लो समय निषेधाज्ञाको उल्लङ्घन गर्नेहरूको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । आम मानिसले निषेधाज्ञा रोग नियन्त्रणका लागि हो भन्ने बुझेर पनि बुझ पचाउँदा रोग नियन्त्रण बाहिर जान थालिसकेको छ ।
निषेधाज्ञा कार्यान्वयनका लागि खटिएका प्रहरीले अहिले दैनिक निषेधाज्ञा उल्लङ्घन गर्नेहरूलाई नियन्त्रणमा लिइरहेको छ । यसैक्रममा मङ्गलबार २ सय ३५ वटा सवारी साधन तथा कागजपत्र नियन्त्रणमा लिएको छ । मङ्गलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले सवारी साधन र तिनका कागजपत्र नियन्त्रणमा लिएको हो । जिल्लाको विभिन्न स्थानमा राखेको चेकप्वाइन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल, स्कुटर, अटो, सानो गाडी, ट्रिपर गरी जम्मा २ सय ३५ सवारी साधन तिनका कागजपत्र नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी अटेर गरी पसल सञ्चालन गर्ने ८ जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी धनी तथा पसल सञ्चालक गरी ५७ जनालाई सङ्क्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाइएको प्रहरीले बताएको छ ।