विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीले अहिले नेपाल नराम्रोसँग प्रताडित बन्न पुगेको छ । पहिलो चरणको कोरोना भाइरसबाट कम क्षति व्यहोरोको नेपालले दोस्रो चरणलाई नजरअन्दाज गर्न खोज्दा आज अवस्था भयावह हुन पुगेको छ । अहिले नेपालमा सङ्क्रमणको दर दिनप्रतिदिन बढ्दै गइरहेको छ भने सङ्मणका कारण ज्यान गुमाउने सङ्ख्या पनि अत्यधिक वृद्धि हुन थालेको छ ।
देशको अवस्था त भयावह छ नै । मकवानपुरको अवस्था पनि पछिल्लो समयको सङ्क्रमण हेर्दा कहाली लाग्दो छ । दैनिक सङ्क्रमित हुनेको सङ्ख्या ६५ प्रतिशतभन्दा बढी छ । मकवानपुर जिल्लामा पनि हेटौंडा उपमहानगरपालिकाभित्रको सङ्क्रण दर धेरै नै छ । विशेषगरी वडा नम्बर १,२,४,५, १०,९ मा सङ्क्रमणको दर धेरै देखिन्छ । दैनिक १५० को औसतमा सङ्क्रमण फैलिरहेको छ । पहिलो चरणको भाइरसभन्दा बढी सङ्क्रमक रहेको भनिएको यस भाइरस हेटौंडामा तीव्र रुपमा फैलिरहेको छ । पछिल्लो समय कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको दर पनि बढिरहेको छ । दोस्रो लहरको भाइरस फैलिन थालेपछि मात्र यो लेख तयार पार्दासम्म १४ जनाले ज्यान गुमाइसकेका छन् ।
कोरोना भाइरसले जनजीवनलाई तहसनहस पार्न थालिसकेको छ । यसको नियन्त्रणका लागि मकवानपुर जिल्ला प्रशासन कार्यलयले हेटौंडासहित ४ स्थानीय तहमा निषेधाज्ञा लागू गरेको छ । ती क्षेत्रमा यातायातका साधन, पसल आदि सञ्चालनमा रोक लगाएको छ भने अत्यावश्यक काम बाहेक बाहिर नहिँड्न पनि प्रशासनले आग्रह गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरिरहनुभएको छ र दिनहुँ जस्तो सूचना पनि जारी भइरहेको छ । यस्तै हेटौंडा उपमहानगरपालिकाले पनि माइकिङ गर्दै सङ्क्रमणबाट बच्न र सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ । तर हेटौंंडा उपमहानगरपालिकाभित्रको अहिले फैलिरहेको सङ्क्रमण र बजारको अवस्थालाई हेर्दा कोरोना सङ्क्रमणको अवस्था अत्यन्त जटिल र भयावह हुने देखिन्छ ।
निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा दिनहुँ प्रहरीले सयौँ मोटरसाइकललगायत अन्य साधनलाई नियन्त्रणमा लिइरहेको छ । पसल सञ्चालन गरेको भन्दै कतिपयलाई कारबाही पनि शुरु गरेको छ । के अब यति नै गरेरमात्र कोरोना सङ्क्रमण फैलनबाट रोक्न सकिन्छ ? अब बेलैमा सोच्ने बेला भएन र ? यदि निषेधाज्ञा लगाउने र बाहिर निस्कनेहरूलाई कारबाही गरेर मात्र चुप लगिरहने हो भने केही दिनपछि हेटौंंडामा सङ्क्रमणले रौद्र रुप देखाउन थाल्ने छ । त्यतिबेलाको हाहाकार र चित्कारले हेटौंडा आतङ्कित हुँदा कसैको सहयोग नपाउने अवस्था सिर्जना हुन सक्छ । अहिले सबैतिर यो भाइरसले सताइहेको छ । यो रोगलाई फैलिन नदिने एकमात्र उपाय घर बाहिर ननिस्कनु, भिडभाडमा नजानु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु नै मुख्य हो भन्ने कुरा विभिन्न राष्ट्रले यसलाई नियन्त्रणमा लिन अपनाएको उपायबाट बुझ्न सकिन्छ । तर हामीले यसलाई व्यावहारमा उतार्न सकिरहेका छैनौँ । हामी आफूलाई सुरक्षित राख्न चाहन्छौँ तर सुरक्षाका उपाय अपनाउँदैनौँ । हामी रोगबाट बच्न चाहन्छौँ तर रोग खोज्दै हिंडिरहेका छौँ । हामी आफूलाई सचेत ठान्छौँ तर चेतनहीनले जस्तो व्यवहार गरिरहेको छौँ यसकै परिणामस्वरुप अहिले कोरोना सङ्क्रमण फैलिरहेको छ ।
नागरिकलाई त दुई छाकको बन्दोबस्त गर्नु छ सरकारले केही निर्देशन नदिएसम्म उनीहरुको दैनिकीमा जति नै प्रवचन सुनाएपनि फेरबदल आउन सक्दैन । अरुले आदेश दिएपछि मात्र पालना गर्ने बानी परेका हामी रोगले भेटपछिमात्र आँखा देख्छौँ । कोरोना दिनप्रतिदिन हामी नजिकै आइरहेको छ । अहिले सरकारले नागरिको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिन नसक्ने अवस्थामा पुगिसकेको छ । देशका ठुलाठुला र सम्भ्रान्त परिवारको पहुँचमा मात्र रहेका अस्पतालले त अहिले हात उठाउन थालिसके भने हेटौंडाको रिफर अस्पतालका रुपमा चिनिएको हेटौंडा अस्पतालले उपचार देला भनेर आशा गर्नु व्यर्थ हुने छ । सरकारले स्वास्थ्य अवस्था नियन्त्रण बाहिर जान थाल्यो भनिरहँदा प्रदेश र स्थानीय सरकारले त अब रामराम भनेर बस्ने भन्दा अर्काे उपाय अपनाउन सक्ला र ? यस्तो भयानक अवस्थाको परिदृष्य हाम्रो आँखा अगाडि झलझली आइरहँदा अब शतर्कता अपनाउनतर्फ लाग्नु पर्ने होइन र ?
मकवानपुर जिल्लामा अब सङ्क्रमण बढ्न नदिने र नियन्त्रण नै गर्ने हो भने स्थानीय सरकार प्रदेश सरकार जिल्ला प्रशासन कार्यालले तत्काल कडा कदम चाल्नु पर्छ । विशेषगरी अहिले बढी सङ्क्रमण फैलिरहेको हेटौंडा उपमहानगरपालिकाभित्र तत्काल लकडाउन वा कर्फ्युसम्मका कदम चाल्नुपर्छ । कम्तिमा २० दिन लकडाउन वा कर्फ्यु नै जारी गर्ने हो भने मानिसको चहलपहल र एकअर्कासँगको भेटघाटमा कमी भई सङ्क्रमण फैलिनबाट बचाउन सकिन्छ । अहिले विभिन्न क्षेत्रलाई खुल्ला राख्ने नाममा हेटौंडा बढिरहेको ओहोरदोहोर विवाह, पूजाआजा भोज भतेर आदिले सङ्क्रमणको दर बढाएको हो । लकडाउनले यी कुरामा कमी आउने छ । केही समय प्रशासन र विभिन्न तहका सरकार निर्मम रुपले नलाग्ने हो भने माहामारीको डढेलोले हेटौंडा पिल्सिने छ ।
यस्तो बेलामा निम्न वर्गका ज्याला मजदुरी गर्ने नागरिकका लागि केही समय राहतको व्यवस्था प्रदेश सरकार स्थानीय सरकारले गर्नुपर्छ । रोग लागेपछि व्यहोर्नुपर्ने क्षतिभन्दा पहिले नै सतर्कता अपनाउन अब तत्काल सोच्नु बुद्धिमानी हो । हेटौंडा, प्रदेशको राजधानी भएको महसुस यस्तै विपत्तिको गराउन सक्नुपर्छ । केही विज्ञप्ति र निर्देशन मात्र दिएर मात्र प्रदेश सरकारले आफ्नो जिम्मेवारी पूरा गरेको ठान्नु हुँदैन । अहिले बुटवल, वीरगञ्ज नेपालगञ्ज, जस्ता ठुला सहरमा जस्तो मानवीय क्षति व्यहोरिसकेको छैन त्यसैले तत्काल सबै संयन्त्र मिलेर अगाडि बढिहाल्नु पर्छ ।
हेटौंडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय सबै मिलेर एउटा ठोस कदम तत्काल चाल्नु पर्दैन ? किन मौन देदिन्छन् यी दुवै निकाय ? संघीय सरकारलाई त जनताको स्वास्थ्यको चिन्ताभन्दा पद र प्रतिष्ठाको चिन्ताले सतायोे । अब तल्लो वर्गका मानिसका लागि सिंहदरबारको काम गर्छाैँ भनेर आएका प्रदेश सरकार, र स्थानीय सरकारले नागरिकको स्वास्थ्यको चिन्ता लिनु पर्दैन ? डोनाल्ड ट्रम्पले कोरोनालाई नजरअन्दाज गर्दा अमेरिकारले कति मानवीय क्षति व्यहोर्नुप¥यो भन्ने कुरा त जगजाहेर नै छ तर जो वाइडेन सत्तामा आएपछि त्यसलाई कति शतर्कतापूर्वक नियन्त्रणमा लिए भन्ने कुरा पनि हामीले बुझेका छौँ । हाम्रो प्रदेश सरकारले हेटौंडालाई राजधानीका रुपमा प्रयोग गरिरहँदा शतर्कतापूर्वक कोरोना नियन्त्रण गर्न लाग्ने कि नलाग्ने ? स्थानीय सरकारले पनि आफूले पाएको अधिकारमा रही तत्काल ठोस कदम चाल्ने कि पीसीआर टेष्टमै मात्र रमाएर बस्ने ? अबको जिम्मेवारी यी नै दुई तहका सरकारको हो किनकी यहाँ संघीय सरकारलाई सत्ता र कुर्सीले निद्रा गायव बनाइरहेको बेलामा हेटौंडा जस्ता कोरोनाको डढेलाले खान लागेको सहरलाई हेर्ने फुर्सद नै कहाँ छ र ?