-पंण्डित रामचन्द्र आचार्य ‘फुर्सती

संसारकै प्राचीन एवम् अपौरुषेय ग्रन्थमा उस्तो उद्गार पंक्ति पाइन्छ मातृदेवो भव ।

अर्थात् आमालाई देवतासमान सम्मान गर । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । ‘आमा’ जसले ९ महिनासम्म गर्भमा बोकेर यस भूमिमा जन्माउनु भयो । आमाले दश धारा दूध खुवाएर हुर्काउनु भयो । शैशवास्था अर्थात् बाल्यकाल जुन निस्वार्थ भावमा सेवा सुस्याहारका साथ हुर्काउने काम आमाबाट हुन्छ ।

आफ्नो भोक, थकाइ, तिर्खा बिर्सिएर छोराछोरीको सम्पूर्ण आवश्यकता पूरा गर्न गराउन ज्यान दिएर अग्रसर हुने काममा आमाले कुनै पनि कसर बाँकी राख्नु हुन्न । आफ्ना छोराछोरीहरुलाई सक्षम बनाउन अहोरात्र परिश्रम गर्नुहुन्छ । आफ्ना सन्ततिको उज्ज्वल भविष्यका लागि आमाले हरतरहको प्रयासहरु गरिरहनु हुनेछ । समाजमा अग्रगण्य पंक्तिमा देखिउन्, भविष्य सुखद बनोस्, यस्तो चाहना गर्ने पहिलो एक मात्र व्यक्ति आमा नै हुन् ।

जीवनमा आमाको महत्त्व सर्वोपरी रहेको छ । हरेक व्यक्तिको व्यक्तिगत सफलतामा आमाको जुन योगदान रहेको छ । त्यसको सट्टामा आमालाई के कस्तो सम्मान गर्न सकिन्छ, जीवनको महत्वपूर्ण क्षणमा आमालाई कसरी सम्झने, कस्तो सेवा गर्ने, एक वर्षभरिमा एक दिन मात्र आमाको सम्झना गर्ने दिन भनेर ‘मातातीर्थ अमावश्य’का दिनलाई लिने गरिन्छ, जुन वैशाख कृष्णऔँशीका दिन मातातीर्थमा स्नान, दान, मातृश्राद्ध गर्ने गरिन्छ । आजका दिन आमा जीवित हुनेहरुले आमालाई यथायोग्य यथाशक्य वस्त्र, मिष्ठान्न परिकार, आभूषणसहित सम्मान गर्ने प्रचलन छ । सधैँभरि आमालाई खुशी राख्न सक्नु, आमालाई सेवा गर्न सक्नु, आमालाई सम्मान गर्दा सम्पूर्ण तीर्थ भ्रमण गरेसरहको पुण्यफल प्राप्त हुन्छ भन्ने हाम्रो वैदिक, धार्मिक, सांस्कृतिक वाङ्मयमा यत्रतत्र उल्लेख गरेको पाइन्छ ।

माता गंगासमम् चैव पिता पुष्कर मेवच
गुरु केदारकम् तीर्थम् माता गंगा पुनःपुनः ।

अर्थात् आमाको महत्व गंगासमान छ भने पिताको महत्व पुष्कर तीर्थबराबर छ । गुरु केदारनाथ हुन् भने आमा पुनः गंगा झैँ पवित्र र अटल रहन्छिन् भन्न खोजिएको हो ।
वृद्ध मातापितालाई वृद्धाश्रमको जिम्मा लगाएर कर्तव्य पूरा गरेको भन्ने भद्रभलाद्मीहरु एकपटक आफू पनि बूढो हुनुपर्छ भन्ने सोचिदिएमा यस दिनको सार्थकता अझ झल्कने थियो कि !