हेटौँडा, १४ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई असफलतातर्फ धकेल्न नहुनेमा जोड दिनुभएको छ । आज भिडियो सन्देशमार्फत् दशैँको शुभकामना व्यक्त गरी उहाँले अहिले देशको राष्ट्रियता र इतिहास सर्वाधिक सङ्कटापन्न स्थितिमा रहेको समेत उल्लेख गर्नुभएको छ ।
डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको भन्दै उहाँले नागरिकको दैनिक जीवन नै अहिले सकसपूर्ण बनेको बताउनुभयो । नेपाल निरन्तर विदेशीहरूको क्रिडाभूमि बनेको र अहिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाभित्र विवाद, विग्रह र विकृतिप्रति सर्वत्र प्रश्न उठेको टिप्पणी समेत गर्नुभएको छ ।
पदलोभ, सत्तास्वार्थ र सुविधा भोगका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र नागरिकको हालत के होला रु उहाँले प्रश्न गर्नुभएको छ । हाम्रा कुनै पनि कार्यले देश कहिल्यै पनि हार्न नहुनेमा पनि पूर्वराजा शाहको जोड छ ।