हेटौँडा, १३ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको जिकिर गर्नुभएको छ । आज बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले देशको अवस्था देखेर नागरिक दिक्क भएको बताउनुभयो । उहाँले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव देश विकासको निर्णायक चुनाव भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको दाबी गर्नुभयो । उहाँले सरकार गठन गर्नेदखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्ने कुरा चुनावले तय गर्ने भएकाले देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्न आह्वान गर्नुभयो ।

अध्यक्ष ओलीले अहिले गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ता एमाले प्रवेश गर्ने लहर चलेको भन्दै देश एमालेमय बनेको दाबी गर्नुभयो ।