हेटौँडा, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गर्नुभएको छ । देशले विकल्प खोजिरहेकाले नेपाली नागरिकले आउँदो चुनावमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने उहाँको भनाइ थियो ।

रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि बुधवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले पार्टीका अगुवा नेताहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अघि बढ्न पनि निर्देशन दिनुभयो । उहाँले प्रतिनिधि सभा र प्रदेश सभाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै उच्च मनोबलका साथ चुनावको तयारीमा जुट्न पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गर्नुभयो ।

अध्यक्ष लिङ्देनले चुनावमा हारिन्छ कि भन्ने हिन भावना त्यागेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रलगायतका नेताहरूलाई स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।