हेटौँडा, १२ असोज । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।

अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘‘प्रदेशभित्रका अस्पतालको संचालन र व्यवस्थापन आदेश, २०७५’’ खारेज गरेको छ ।

बागमती प्रदेशको प्रदेश गत भदौ २७ गते बसेको मन्त्रीपरिषद बैठकले सिफारिस गरेको अध्यादेशलाई प्रदेश प्रमुख शर्माले (बुधबार) जारी गर्नुभएको हो । नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम अध्यादेश जारी गर्नुभएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवा सम्बन्धी कामकारवाहीलाई प्रभावकारी नियमन गर्न तथा नितीगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ ।

त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था संचालन तथा तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ ।