हेटौँडा, ११ असोज । बाबा कहिले आउनुहुन्छ आमा ? यो प्रश्नले शान्ति चेपाङलाई दिनकै झस्काउछ । अहिले गाउँमा हिन्दूहरुको मुख्य चाड दशैंले छपक्कै छोपेको छ । टाढा टाढा भएका आफन्तहरु घर जाने क्रम जारी छ ।
गाउँका वल्लो र पल्लो घरका बालबच्चाका लागि उनीहरुका अभिभाबकले नयाँ कपडा किनेर ल्याईसकेका छन् । त्यसरी ल्याउने क्रम जारी नै छ । दशैं चेपाङ जातिको मुख्य त चाड होईन । चेपाङ जातिको मुख्य चाड न्वांगी हो । तथापी यस चाडलाई चेपाङजातिले पनि मुख्य चाडकै रुपमा मनाउने गर्छन ।
उनीहरुले पनि यो चाडमा रमाइलो गर्ने, छोरी चेलीहरु कोसेली बोकेर माइत जाने गर्छन । यो चाडलाई उनीहरुले पनि अन्य जातिजस्तै पारिवारिक मिलन हुने चाडकै रुपमा लिने गर्छन ।
देशको कुनैपनि कुना काप्चामा रहेकाहरु पनि दशैंमा घर जाने गर्छन । ज्याला मजदुरी गर्नेहरु पनि दशैंमा परिवारका लागि चाहिने सर सामान , लुगा फाटो बोकेर जाने गर्छन । घरमा चाहिले मरमसलादेखि अन्य चिज पनि बोकेर घर लैजाने चलन बिद्यमान रहेको छ ।
यस्तो महत्वपूर्ण चाडमा आफ्नो परिवार नहुँदा घरमा जो कसैलाई असह्य पिडा हुन्छ । यस्तै पिडा लुकउन बिबस छिन शान्ति चेपाङ । उनको श्रीमान गाँजा मुद्धामा जेल परेको आज ४ महिना लाग्यो । अर्काको भरिया बनेर जाँदा मनहरी प्रहरी चौकीबाट खटिएको टोलीले अक्कल बहादुर चेपाङलाई गाँजासहित समात्यो । अहिले उनलाई भिमफेदी कारागार जेल चलान गरिएको छ ।
बिहान बेलुका छाक टार्नकै लागि ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका अक्कलले पैसाको लोभमा गाँजा बोकेर हिडे । कमाउने मान्छे प्रहरीको फन्दामा परेपछि अहिले राप्ती नगरपालिका वडा नम्बर ११ जिम्लिङकी शान्ति चेपाङ ३ वटा बच्चा हुर्काउदैछिन ।
अरुको घरमा दशैंले रंगिएको बेला शान्तिको मन भरंग भईरहेको छ । उनले बाहिरी हाँसो अरुको अगाडी देखाएपनि उनको मनको जलन कस्ले बुझ्न सकेको छ र ? कसैले के छ ? भनेर सोधे ठिकै छ भन्दै बाहिरी हाँसो देखाउन खोज्छिन । तर उनको मनको पिडा लुकाउन खोजे पनि उनको हाउभाउले देखाईहाल्छ । ३ वटा बच्चामध्ये एउटा त काखमै छे । ठूला भईसकेकी छोरीले बाबा चिन्ने भईसके । यो अवस्थामा बच्चाले आफ्नो बाउ त खोज्ने नै भईहाल्यो । ठूली छोरी अस्मिले आमालाई बारम्बार बाबा कहिले आउनुहुन्छ आमा ? भनेर सोध्दा शान्तिको मन कम त भक्कानिदैन । उनले छोरीलाई बाबा जेल गएको छ भनेर भनेकी छैनन् । बालमष्तिकमा नराम्रो छाप पर्ला भनेर छोरीलाई बाबा पैसा कमाउन जानुभाछ भनेर टार्छिन ।
आफ्नो बालबच्चाको स्याहार र सुसार अनि अलि अलि भएको बारीमा काम गर्दै शान्तिको दिन बित्ने गर्छ । उनी आफ्नो अलावा गाउँमा पनि खेतालापात गर्ने गर्छिन । उनले आफे बारी आफै जोत्ने पनि गर्छिन । श्रीमान ज्याला मजदुरी गर्ने भएकै कारण उनले खनजोत आफै गर्दै आएकी हुन । महिलाले जोत्नु हुँदैन भन्नेहरुलाई उनको ठाडो जबाफ छ महिलाले गर्न सक्दैन भनेर होच्याएको होला तर महिलाले सबै काम गर्न सक्छे भनेर देखाउनकै लागि आफूले यस्तो गरेको हो ।
आर्थिक रुपमा विपन्न अक्कलबहादुर जेलमा गएपछि शान्तिको दिनचर्या अलि बेग्लै चल्न थालेको छ । अक्कल हुँदा एकसो काम मात्र गरे् पुग्नेमा अब चाहि कामको बोझ झन थपिएको छ । त्यो थपिएको बोझलाई पनि शान्तिले लुकाउन खोज्छे । तर उनको अनुहारको भावले हामीले सहजै अनुमान लगाउन सक्छौ कि उनको मनमा पिडा लुकेको छ ।
यही पिडाको बिचमा दशैं जस्तो मुख्य चाड आएको छ । यो चाडमा मासु, चामल, नयाँ लुगा किन्ने सबैको बानी छ । तर, शान्तिले आफ्नो र परिवारको लागि चाहिने कपडा र खाद्यान्न अहिलेसम्म खरिद गर्न सकेकी छैनन् । उनलाई दशैं जति नजिक आयो आफूलाई दशा लागेको अनुभव हुन्छ र भन्छिन दशैं होईन हाम्रो लागि दशा आयो । उनको यो भनाई अन्यमा पनि लागू हुन्छ । तथापी अहिले उनको परिवारको अवस्था हेर्दा हामीले हामी भन्दा बढी बज्रपातमा परेको देख्न सक्छौ ।
पुरानो घर त्यसमाथि झार उम्रिएको छ । त्यही घरमा आश्रय लिईरहेका शान्तिले दशैं आउन लागेपछि लिप पोत चाहि गरेकी छिन । घर चिटिक्क बनाउन खोजे पनि उनको मनभित्र उम्लिरहेको दुखान्तलाई मेट्ने काम कसैले गर्न सकेको छैन ।
उनकै श्रीमानसँगै जेल परेका छन् सोही ठाउँको ईन्द्रबहादुर चेपाङ पनि । उनको परिवारको अवस्था नि त्यस्तै छ । कमाउन भनेर हिडेका घरका मान्छेहरु जेलमा गएपछि अहिले परिवारमा पिडा छ ।
घरमै भएकाहरुको त दशैं कसरी मान्ने भनेर चिन्तामा रहेको बेला कमाउने मान्छे नै घरमा नभएकाहरुको हालत हेरिसनसक्नुको छ । हामीले यो अवस्थालाई अनुभव मात्र गरेपनि जो कसैको आङ सिरिङ्ग हुन्छ ।
यस्तो अवस्थामा सहयोगी मनको खोजीमा छन् उनीहरु । कतैबाट सहयोग मिले उनीहरुको परिवारमा पनि दशैंका रौनक छाउथ्यो कि भन्ने हाम्रो आशा छ । उनीहरुको मुहारमा खुसी तुल्याउनका लागि हामीले केही गर्न सके यसपालीको दशैं उनीहरुका लागि बहार बनेर आउनेछ । नभए उनीहरुको दशैं साच्चै शान्तिले भनेझै दशा नै बनेर आयो र त्यसरी नै जाने छ ।
कहिलेसम्म गाँजबाट प्रताडित बन्ने चेपाङ जाति ?
गाँजाबाट मनग्य कमाई हुने भएकोले चेपाङ जातिहरु यसको खेती गर्न र ब्यापार गर्न लालायित छन् । विश्व स्वास्थ्य संगठनले धरी औषधीजन्य गुण भएको वनस्पतीको रुपमा ब्याख्या गरिएको गाँजा नेपालमा भने प्रतिबन्धित लागूऔषको रुपमा रहेको छ । यस्तो अवस्थामा तत्काल सरकारले यसलाई प्रतिबिन्धित लागूऔषधबाट हटाउनु आवश्यक भएको संविधानसभा सदस्य गोविन्दराम चेपाङ बताउँछन् । अहिले सम्म सयौ चेपाङलगायत अन्य जातिहरु गाँजा मुद्धामै जेलजीवन बिताईरहेका छन् ।
यसलाई चाडै खुला गरेर बरु सरकारले राजश्व संलन गर्ने कार्य गरे यसबाट सरकारलाई पनि सहज हुने थियो भने गाँजबाट गरिबले पनि फाइदा पाउने अवस्था हुने थियो । यसतर्फ सबैले पहल गर्नुपर्ने देखिन्छ ।
(कोसेली खबरबाट साभार)