हेटौँडा, १० असोज । बागमती प्रदेश प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
नजिकिँदै गरेको चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) को समयमा बढि भिडभाड हुने तथा नागरिकलाई यात्रामा असहज हुन नदिन प्रदेश अन्तर्गत १० वटा जिल्लामा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी संचालनमा ल्याईएको हो ।
यस कार्यक्रमअन्तर्गत् मकवानपुरमा ८ वटा, चितवनमा ४, धादिङमा ६, नुवाकोटमा ६, रसुवा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछाप २ र सिन्धुलीमा ५ गरी ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी एकैपटक संचालनमा ल्याईएको हो ।
व्यस्त स्थान, बसपार्क तथा बढि भिडभाड र आवतजावत हुने स्थानहरुमा ट्राफिक प्रहरीसहितको सहायता कक्ष स्थापना गरिएको हो । स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरीसहित १ सिफ्टमा १ सय ५६ जना प्रहरी हुने गरी २४ औं घण्टा प्रहरी परिचालन गरिएको छ ।
यात्रा गर्दा अथवा कुनै समस्या परे तत्काल यात्रु तथा नागरिक सहायता कक्षमा सम्पर्क गर्न बागमती प्रदेश प्रहरी कार्यालयले सबैलाई आग्रह गरेको छ । यसबाट नागरिकलाई आइपर्ने समस्या तत्काल समाधान हुने अपेक्षा गरिएको छ ।
