हेटौंडा, २७ वैशाख ।

देशभरमा आठ जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा लागू भएको छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ६९ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ ।

निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । गृह मन्त्रालयले पूर्ण र आंशिक गरेर ६८ जिल्ला भने पनि सोलुखुम्बुमा पनि गएरातिदेखि निषेधाज्ञा सुरु भएको छ ।

बैशाख पहिलो हप्तादेखि नै बढी प्रभावित जिल्लाहरुमा निषेधाज्ञा सुरु भए पनि सङ्क्रमण न्यूनीकरण हुन भने सकिरहेको छैन ।

सरकारले सङ्क्रमण नियन्त्रणका लागि प्रयास जारी राखेको बताए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै स्थानीय बासिन्दाले नै हेल्चक्र्याइँ समेत गरेको देखिएको जनस्वास्थ्यविद्हरुले बताएका छन् । यस अवस्थामा जनस्वास्थ्यको मापदण्डको पालना गर्नु गराउनु नै सबैभन्दा उत्तम मानिन्छ ।