हेटौँडा , वैशाख २७ ।

संसदको विशेष अधिवेशन अन्तर्गतको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि राष्ट्रपतिबाट संसदको विशेष अधिवेशनको आह्वान भएको हो ।

बैठकको सुरुमा शीर्ष नेताहरुले सम्बोधन गर्ने र सोमबार नै विश्वासको मतमा मतदानको तयारी गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकले निर्णय गरे अनुसार कोरोना भाइरसबाट संक्रमित भएका सांसदहरुले पनि मत हाल्न पाउने गरि विशेष व्यवस्था गरिएको सचिवालको भनाई छ ।

विश्वासको मत प्राप्त गर्नका लागि प्रधानमन्त्री ओलीले १३६ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा एमालेका १२१ सांसद छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका ६१ सांसद छन् र उसले विपक्षमा मत दिने बताएको छ ।

माओवादी केन्द्रले हालै मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । उसका ४९ सांसद छन् ।

आन्तरिक किचलोमा परेको र विभावित मनसायमा रहेको जनता समाजवादी पार्टीका ३२ सांसद रहेका छन् । जसपाले ह्वीप जारी गरेको छैन र उसका सांसदले व्यक्तिग विवेकका आधारमा मतदान गर्ने बताइएको छ ।

सत्तारुढ एमालेले ह्वीप जारी गरेर आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । तर वरिष्ठ नेता माधव नेपाल पक्ष ओलीको विरोधमा छ ।

एमालेका सबै सांसदले मत दिएको अवस्थामा पनि ओलीलाई विश्वासको मत पाउन थप १५ सांसदको समर्थन चाहिन्छ ।