-सम्झना श्रेष्ठ
यतिबेला नेपाल कोरोनाको ठुलो चपेटामा परेको छ । नेपाल मात्र नभई विश्वलाई नै कोरोनाको नयाँ भेरिएन्टले ग्रस्त बनाएको छ । नेपालमा पछिल्लो समय कोरोनाको कारण मृत्यु हुनेहरूको सङ्ख्या पनि ज्यादा छ । सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुने क्रम पनि रोकिएको छैन, अझ थपिँदै गउको छ ।
नेपाललाई कोरोनाको महामारीले आक्रान्त पारिरहेका बेला आम जनता त्रसित छन् । नेपाली जनताले सरकार छ भन्ने कुराको महसुस समेत गर्न पाएका छैनन् । सरकारले जनताको आत्मविश्वास बढाउनुपर्ने अवस्थामा स्वास्थ्य मन्त्रालय विज्ञप्ति नै निकालेर स्थिति भयावह हुन थाल्यो, अझै सङक्रमित बढेमा उपचार गर्न सकिँदैन भनेर हात टक्टक्याउँछ । करोडौँ जनसङ्ख्या रहेको देशमा केही हजारमा सङ्क्रमण देखिँदा यसरी आत्तिनु भनेको एउटा कायरपन हो, लज्जाको विषय हो ।
सरकार यसरी लाज पचाउँदै सत्ता र कुर्सीको जतनमा लाग्दा राजनीति एउटा फोहोरी खेलबाहेक अरू केही हुनै नसक्ने कुरालाई चरितार्थ गरेको छ । वर्तमान सरकार यतिबेला सत्ता बचाउने दाउपेचमा दौडधुपमा रहेको छ भने जनता जीवन बचाउने झिनो प्रयासमा जसोतसो सास फेरिरहेका छन् ।
कोभिडसँग लड्न आवश्यक स्वास्थ्य सामग्रीकोे जोहो गर्नुको साटो सरकार कुर्सी बचाउने दुर्गन्धित चटारोमा तमासा देखाइरँदा साँच्चै घृणा भाव बाहेक अरु केहि बाँकी छैन ।
प्रधानमन्त्रीलाई धरहरा उद्घाटन गर्ने हतारो प¥यो । के अव धरहराको टुप्पोमा चढेर वीर अस्पतालमा कोरोनाले छट्पटाइरहेका बिरामीको रोदन, चिच्याहट र लासहरुको तमासा हेर्ने हो र ? कोरोनाको त्रास बढ्न थालेपछि प्रधानमन्त्रीले काँहा कतिवटा कोभिड अस्पताल उद्घाटन भयो ? कोभिड नियन्त्रणका लागि कँँहा कतिवटा आइसोलेशन थपिए ?
देशका केही मध्ये धेरै जिल्लामा आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किनु भनेर बारम्बार माइकिङ् गरिन्छ, रेडियो, टेलिभिजनहरू समाचार पढ्छन् । पत्रपत्रिकाहरू ठुलाठुला अक्षरमा छाप्छन् कोरोनाबाट मर्नेहरूको तथ्याङ्क ।
नागरिकलाई घरभित्र थुनेर कुर्सी बचाउन प्रधानमन्त्री डुलिरन्छन्, हुल बाँधेर कहिले उद्घाटनमा, जम्बो टोलीसहित भेटवार्तामा कहिलेको बालुवाटार, कहिलेको शितलनिवास । कति सक्रिय छन् हाम्रा प्रधानमन्त्री ।
आखिर जनता भनेको प्रयोग भइदिने साधन मात्र न रहेछन् । चुनाव जिताउन प्रयोग भएका नेपाली जनता काठमाडौँमा एकअर्का पक्षलाई सङ्ख्या देखाउनमा प्रयोग भए । खै के पाए महामारीको यो घडीमा ?
हुँदा हुँदा स्वास्थ्य मन्त्रालय भनेको पनि मान्छे मारेर तथ्याङ्क संकलन गर्ने अड्डा जस्तो मात्रै भएको छ । कोरोनाका बिरामी यही गतिमा बढे थेग्न सक्दैनौँ भनेर विज्ञप्ति निकाल्ने स्वास्थ्य मन्त्रालय आफ्नो सिफारिस बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरूलाई निर्देशन दिँदैछ । सरकार कति निर्लज्ज छ, कति लम्पसार छ अनि कति बेइमान छ । जनताको प्राणमा किन यसरी सरकाले खिसिट्युरी गरेको होला ?
परेको बेला महसुस गर्न नपाइने सरकार केका लागि ? मिठा–मिठा सपना बाँडेर मात्र कहाँ भोको पेट भरिँदो रहेछ र प्रधानमन्त्री ज्यू । सपना देख्नलाई त पहिला बाँच्नुपर्छ, बाँच्नलाई रोगबाट जोगिनु पर्छ । अनि त्यो ठु…..लो रोग भनेको कोरोना हो । पहिले कोरोनाबाट बचाउ सरकार सधैँ जिवित रहन्छ ।