हेटौंडा, २४ वैशाख ।
मकवानपुरमा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज दिउँसो हेटौंडा अस्पतालमा उपचारको क्रममा एकजना पुरुष र एक जना महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालका ७ का ४० वर्षिय पुरुष र हेटौंडा उपमहानगरपालिका ४ की ३७ वर्षिय महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।
यसअघि हिजो साँझ बाहिरी जिल्लाका एक पुरुषको मृत्यु भएको थियो ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पिसिआर र एन्टीजेन विधिबाट ३ सय १८ जनामा गरिएको परीक्षणबाट थप १ सय ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेमा सबैभन्दा बढी १ सय १३ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।
यसैगरी कैलाश गाउँपालिकाका ३५ जना, मनहरी गाउँपालिकाका १२ जना,थाहा नगरपालिकाका १२ जना, ईन्द्रसरोबर र बकैैयाका एक एक जना रहेका छन् ।