हेटौंडा, २४ वैशाख ।
गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उमेदवारी दर्ता गराउनु भएको छ ।
आज थापाले निर्वाचन कार्यालय मकवानपुर हेटौंडामा उमेदवारी दर्ता गराउनु भएको हो ।
नेता थापाको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बस्नु भएको छ भने सामाजिक विकासमन्त्री सरस्वती बस्नेत समर्थकमा बस्नु भएको छ ।
त्यसैगरि, डा. खिमलाल देवकोटाको पनि उमेदवारी दर्ता भएको छ । उहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट साझा उमेदवार हुनुहुन्छ । तर उहाँले स्वतन्त्र रुपमा उमेदवारी दर्ता गराएको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।
वाग्मती प्रदेशअन्तर्गत आउँदो जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उप निर्वाचन हुँदैछ ।
त्यसैगरि नेपाल मजदुर किसान पार्टीले वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङलाई उमेदवार बनाएको छ । तामाङलाई उमेदवार बनाउने निर्णय भएको नेमकिपाले जनाएको छ ।
माओवादीले बादललाई कारबाही गरेपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले आज बिहान १० देखि अपराह्न ४ बजेसम्म उमेदवारी मनोनयनको समय छुट्ट्याएको छ ।
वाग्मती प्रदेश सभामा ६६ निर्वाचन क्षेत्रका एक सय १९ पालिकाका प्रमुख–उपप्रमुख दुई सय ३८ र वाग्मती प्रदेश सभा सदस्य एक सय १० जना गरी कुल तीन सय ४८ मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो ।